
पोखरा । पोखरा-२४ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जनप्रतिनिधिले चुनावताका गरेका वाचालाई ५ वर्षभित्र पूरा गर्ने प्रतिवद्धता जनाए। २ वर्षभित्र ४० प्रतिशतको हाराहारीमा काम भएको जानकारी दिँदै उनीहरुले वडावासीलाई नआत्तिन आग्रह गरे ।
शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको भन्दै उनीहरुले आउँदो वर्षभित्र पामेबाट कास्कीकोट जाने बाटो पूरा गर्ने स्पष्ट पारे। खानेपानी समस्या समाधानका लागि लौरुक लिफ्टिङ योजनाको काम अघि बढेको र बहुवर्षीय आयोजनाको रुपमा २ वर्षभित्र पूरा गर्ने प्रतिवद्धता जनाए ।
कास्कीकोट माथिदेखि पामे साइडको पनि अधिकतम् भूभाग समेटिएकाले वडा कार्यालयमा हुने काम कारबाहीमा समस्या परेको भन्दै वडाको भूभागवाटै वडा कार्यालयमा जाने कनेक्टिङ रोड छिट्टै पूरा गर्ने जनप्रतिनिधिले प्रतिवद्धता जनाए ।
लौरुक तथा पामे एरियाका नागरिकलाई वडाको काम गर्न जानु परेमा निकै घुमेर जानुपर्ने बाध्यता छ ।
पोखरा-२४ का अध्यक्ष भरतबहादुर अधिकारीले आर्थिक वर्षको विभिन्न परियोजना, खर्चको विवरण तथा आगामी योजनाको बारेमा विस्तृत जानकारी गराएका थिए । उनले कास्कीकोटलाई अगाडि बढाउनका लागि आवश्यकताको आधारमा सबै प्रकारका व्यक्तित्वसँग सहकार्य गरेर जाने बताए ।
कार्यक्रममा सहभागीले वडाभित्रका सडक तथा योजनामा विभिन्न प्रश्न उठाएका थिए । वडाबासीले ग्रामीण सडक, शैक्षिक र स्वास्थ्य गुणस्तर सुधार, कास्कीकोटमा पर्यटन प्रवर्द्धन, वडाको भावी योजनाबारे प्रश्न तथा जिज्ञासा राखे ।
अध्यक्ष अधिकारीले घीय, प्रदेश र स्थानीय तीनै तहले उपलब्ध गराएको रकम समायोजन गरेर बजेट बनाएको उल्लेख गरे ।
कार्यक्रममा वडासचिव इन्द्रबहादुर जिसीले चालु आवमा जारी कार्यक्रम र बजेटसँग सम्बन्धित वडा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडासदस्य कृष्णप्रसाद सुवेदीले वडावासी नागरिकले मात्र नभई राजनीतिक दलका नेताले पनि वडाको काममा चासो राख्नुपर्नेमा जाेड दिए । उनले पार्टीलाई अगाडि बढाउनेबारे मात्र नभइ वडालाई अघि बढाउन पनि वार्ता र सुझाव दिनुपर्ने बताए ।
कार्यक्रममा कास्कीकोटवासी वडाभित्रका संघसंस्थाका प्रतिनिधि, तथा सरकारी अधिकारीसमेत गरी १ सय ५० भन्दा बढीको सहभागिता थियो ।





