गण्डकीलाई गौरवको प्रदेशको रुपमा स्थापित गर्न खेलकुद महत्वपूर्ण : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले सीमित स्रोत साधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको बुधबारको बैठकमा मन्त्री थापाले गण्डकीलाई गौरवको प्रदेशको रुपमा स्थापित गर्न खेलकुद महत्वपूर्ण रहेको जनाए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मन्त्री थापाले भने, “सबै क्षेत्रमा बजेट घटेको छ, बजेट घट्यो भनेर चिन्ता गर्नु भन्दा सीमित स्रोत साधनको उच्चतम् उपयोग गर्दै त्यसबाट अधिकतम् फाइदा लिन सशक्त रुपमा अघि बढौँ ।”

प्रदेशको गौरव बढाउने विषयमा प्रदेश सरकार र मन्त्रालय गम्भीर रहेको भन्दै उनले कुनै पनि विकासका कार्यमा प्रतिकुल असर नपर्ने गरी सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गर्न र आवश्यक खेल मैदान मर्मत सम्भारका कार्य गर्नसमेत उनले निर्देशन दिए ।

चालु आर्थिक वर्षमा बजेटमा सम्बोधन हुन नसकेका कार्यक्रमलाई समेत मन्त्रालयको तर्फबाट पहल गर्न आफूले सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले दशौँ राष्ट्रिय खेलकुदमा नवौँको जस्तै गरी नतिजा ल्याउन गम्भीर रुपमा अघि बढ्नुपर्ने सुझाव राखे । प्रशिक्षण अभियानलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए ।

उनले सबै प्रदेशले आफ्नै रंगशाला निर्माण कार्य अघि बढाइरहेकोले गण्डकी प्रदेशले समेत आफ्नै व्यवस्थित रंगशाला निर्माण कार्यका लागि पहल सुरु गर्नुपर्ने स्पष्ट पारे ।

उनले भने, ‘सबै प्रदेशमा आफ्नै रंगशाला निर्माणका प्रक्रिया अघि बढेका छन् । अब गण्डकी प्रदेशले त्यसको सुरुवात गर्नुछ । दक्ष खेलाडी उत्पादनका लागि समेत रंगशाला निर्माण कार्य महत्वपूर्ण छ ।’

बैठकमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले जिल्लामा रहेका खेलकुद मैदानको निर्माण खेलाडी उत्पादनका लागि महत्वपूर्ण रहेको बताए ।

उनले चालु बजेटले विगतमा जस्तै गरी सम्बोधन गरेको उनले बताए । उपलव्ध बजेटको समूचित प्रयोग गरी खेलकुद विकासका लागि अघि बढ्न आग्रह गर्दै त्यसबाट लाभान्वित हुने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।

बैठकमा परिषद्का सदस्यसचिव श्रीधर शर्माले गत आर्थिक वर्ष सम्पन्न कार्यक्रम र चालु आर्थिक वर्षका बजेट तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

बैठकमा गत वर्ष ०८०/०८१ को प्रगति समीक्षा र चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम र तयारीसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे छलफल भएको परिषद्का महाशाखा प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए । बैठकमा परिषद् आर्थिक प्रशासन विभाग अधिकृत नीलकण्ठ ढकालले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button