पोखरा । गण्डकी प्रदेशमा आइतबारदेखि सार्वजनिक यातायातका सवारी सञ्चालन रोकिने भएको छ । राइड एण्ड सेयरिङलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध व्यवसायीले आफ्ना सवारी थन्क्याएरै आन्दोलमा होमिएका हुन् ।
व्यवसायीले आन्दोलनअन्तर्गत गत बिहीबार पोखराको सरकारी कार्यालय क्षेत्रमा करिब १ घण्टा आआफ्नो सवारी साधन सडकमा राखेर र्यालीसहित गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए ।
सार्वजनिक यातायात केन्दीय महासंघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले शनिबार विज्ञप्ति जारी गरी आइतबारदेखि गण्डकीमा सार्वजनिक यातायात सञ्चालन बन्द गर्ने जानकारी दिएको हो ।
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जिल्ला प्रशासन कायालय कास्की यातायात व्यवासायीका मागलाई बेवास्ता गरेपछि आफूहरु आन्दोलनमा होमिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा सरिक हुन सबै व्यवसाय तथा मजदुरलाई अपिल गरेको छ ।
यो आन्दोलनमा यातायातसँग सम्बन्धित विभिन्न संघसंस्था र मजदुर संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् ।
यता, यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगन्द्र केसीले प्रदेश सरकारले सवारी ऐन २०४९ को दफा ८ विपरीत कानून बनाएर व्यवसायीलाई पीडित बनाउन लागेको बताए ।
सार्वजनिक यातायातका सवारीसरह रातो प्लेटका सवारीले यात्रु ओसारपसार गर्ने नीति कार्यान्वयनमा ल्याउने कार्यलाई प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएपछि आन्दोलनमा उत्रिएको उनले स्पष्ट पारे । आफूहरुका माग पूरा गर्न सरकार र सम्बन्धित निकाय गम्भीर नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।
के छन् व्यवसायीका माग ?
-प्रदेश सरकारले रातो प्लेटका २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारीलाई यात्रु ओसारपसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने ।
-श्रम आयोग तत्काल गठन गर्नुपर्ने ।
सडक सुरक्षा योजना तत्काल लागू गर्नुपर्ने ।
-यातायात प्राधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्नुपर्ने ।
-वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्नुपर्ने ।
-यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने ।
-भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदललाई क्रियाशील बनाउनुपर्ने ।
मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले सार्वजनिक यातायात व्यवसायीको आन्दोलनका सन्दर्भमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री दिपक मनाङेको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको हो ।
महासंघले मिडियामार्फत जुन खालको अशोभनीय शब्द प्रयोग गरी यातायात व्यवसायीको आन्दोलनलाई नजरअन्दाज गर्ने काम भएको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण तथा सिंगो यातायात क्षेत्र स्तब्ध भएको जर्नाको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै मन्त्रीबाट व्यक्त त्यस्ता गैरजिम्मेवार अभिव्यक्ति तुरुन्त फिर्ता लिई यातायात व्यवसायीका माग सम्बोधन गर्न जोडदार माग गरेको छ ।
साथै मन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं मन्त्री हुने चेतावनी महासंघले दिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution