पोखरामा श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिता हुने, विजेतालाई एक लाख रुपैयाँ पुरस्कार

पोखरा । पोखरास्थित शुक्ला साहित्य प्रतिष्ठानले राष्ट्रिय स्तरको श्रीकृष्ण भजन प्रतियोगिता गर्ने भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी भाद्र १० गते पोखरा-१६ बाटुलेचौरको खेल मैदानमा श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिता गर्न लागिएकाे प्रतिष्ठान अध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रतिष्ठानले २५ वर्षदेखि प्रतियोगिता गर्दै आइरहेको छ । यस वर्ष रजतजयन्ती समारोहका साथमा कार्यक्रमलाई विशेष बनाउन लागिएको अध्यक्ष बरुवालले बताए ।

प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष वरुवालकै संयोजकत्वमा मूल समिति, सल्लाहकार समिति र विभिन्न ११ समिति गठन गरिएको छ ।

पूर्वअध्यक्ष कुलबहादुर खत्रीको संयोजकत्वमा अर्थ संकलन समिति, कमला शर्मा बास्तोलाको संयोजकत्वमा खरिद छपाई समिति, हरिबहादुर थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन, सचिव दिपेन्द्र बानियाको संयोजकत्वमा कार्यालय व्यवस्थापन तथा कार्यक्रम सञ्चालन, सल्लाहकार सुवास अधिकारीको संयोजकत्वमा अनुगमन गठन गरिएको छ ।

यसैगरी मोहनकुमार सुनारको संयोजकत्वमा स्वयंसेवक परिचालन, गीता भट्टराई भण्डारीको संयोजकत्वमा स्वागत, सत्कार, रामप्रसाद पौडेल घर्मेलीको संयोजकत्वमा प्रचारप्रसार, दुर्गा केसी थापाको संयोजकत्वमा प्राथमिक उपचार, वरिष्ठ उपाध्यक्ष दुर्गा बस्नेतको संयोजकत्वमा महिला परिचालन र हर्कबहादुर गायकको संयोजकत्वमा सरसफाई समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठान सचिव बानियाका अनुसार प्रतियोगिता सम्पन्न १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना स्थान हासिल गर्ने टोलीले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै प्रोत्साहन स्वरुप सहभागी सबै टोलीलाई पाँच हजार रुपैयाँ प्रदान गरिने प्रचारप्रसार समिति संयोजक रामप्रसाद पौडेल घर्मेलीले जानकारी दिए ।
गत वर्ष रामपुर पाल्पाको श्री धर्मोदय दशावतार बालन सांस्कृतिक समूह प्रथम भएको थियो ।

प्रतियोगिताको आन्तरिक तथा बाह्य तयारी सुरु गरिएको र यस पटक अघिल्ला वर्षका भन्दा थप विशेष बनाइने उनले बताए ।

यस वर्षको प्रतियोगितामा देशभरबाट उत्कृष्ट भजन टोली सहभागी हुने प्रतिष्ठानको अपेक्षा छ ।

प्रतिष्ठान जनकविकेशरी धर्मराज थापा, कवि कुलबहादुर केसीको परिकल्पनामा विसं २०४५ सालमा स्थापना भएको हो ।

प्रतिष्ठानले शुक्ला साहित्य राष्ट्रिय पुरस्कार स्थापना, लोककवि चेतबहादुर बरुवाल स्मृति अक्षयकोष, मदनचन्द्रा स्मृति साहित्य एवं समाजसेवा अक्षयकोष र बाल साहित्य पुरस्कारसमेत स्थापना गरी वितरण गर्दै आइरहेको छ । साथै कवि गोष्ठी, साहित्य वाचन श्रृंखलासमेत प्रतिष्ठानले सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button