‘पत्रकार अमृत सुवेदीलाई कुट्नुपर्ने’ अभिव्यक्ति दिएका मन्त्रीलाई कार्वाही गर्न माग

पोखरा । पोखराका पत्रकारलाई अमृत सुवेदीलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारबाही गर्न माग गरिएको छ ।

नेपाल पत्रकार महासंघ कास्की, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र महासंघको केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर मन्त्री गुरुङलाई कार्वाही गर्न माग गरेका छन् । साथै पत्रकारसँग सम्बन्धित विभिन्न संघसंस्थाले मन्त्री गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कार्वाहीको माग गरेका छन् ।

यसैबीच संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाले मनाङेलाई कारबाहीको माग गर्दै सोमबार कार्यबाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मन्त्री गुरुङले आइतबार ‘भेष्ट लगाएर कार्यकक्षमा बसेको फोटो खिच्ने पत्रकारलाई कुट्नुपर्ने’ भनेर अभिव्यक्ति दिएका थिए ।

मन्त्रीको अभिव्यक्तिपछि पत्रकार सुवेदीले आफूमाथि सुरक्षा खतरा बढेको बताएका छन् ।

राइड शेयरिङलाई बन्द गर्नुपर्ने मागसहित यातायात व्यवसायीले आइतबार सार्वजनिक सवारी बन्द गरेका थिए ।

सो विषयको रिपोर्टिङ गर्न पुगेका दुई पत्रकारलाई यातायात मजदुरले कुटपिट गरेपछि मन्त्रीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारलाई मनाङेले दुई जनालाई नभई पत्रकार अमृत सुवेदीलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

मन्त्रीजस्तो गरिमामय पदमा पुगेका जिम्मेवार व्यक्तिले नै पत्रकारलाई कुट्नुपर्ने प्रतिक्रिया दिएपछि संसदीय पत्रकार मञ्चले मन्त्रीलाई नै कारबाहीको माग गरेको हो ।

यता ध्यानाकर्षण पत्र बुझ्दै कार्यबाहक मुख्यमन्त्री थापाले आफूले गएराति नै यस विषयमा मन्त्री गुरुङलाई ध्यानाकर्षण गराएको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button