
पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाममा श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव सुरु भएको छ ।
मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ हुन लागेको महायज्ञ यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।
कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलको प्रमुख वाचकत्वमा हुने महायज्ञमा विभिन्न देवलिला, जनचेतनामूलक नाटकसहित संगीतमय कथा प्रवचन हुनेछ ।
महायज्ञ गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री विन्दुकुमार थापाले शुक्लेश्वर धामको विकासका लागि प्रदेश सरकारकातर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले समाजिक भावनाका साथ सुरु गरिएको महायज्ञमा सबैको साथ र सहयोग आवश्यक हुने बताए ।
पोखरा-३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले महायज्ञलाई सबैले आआफ्ना तर्फबाट सहयोग गर्न आग्रह गरे ।
महायज्ञका क्रममा श्रीमद्भागवत सतचण्डी, वेदपाठ, रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, ग्रहशान्ति पूजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राह्मण भोजन हुनेछ । यस्तै, पितृको फोटो राखी पितृ तर्पण तुलादान, विवाह, व्रतवन्ध, गुन्यूचोलीसहित आरती अर्पण गर्दै धार्मिकसम्बन्धी कार्य सञ्चालन गरिने जनाइएको छ ।
शुक्लेश्वरधाम क्षेत्र विकास संस्थाका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक पदमराज पौडेलको अध्यक्षता एवं मूल आयोजक समितिका सदस्य हरिराम पौडेलले सञ्चालन गरेको कार्यक्रममा समिति उपाध्यक्ष अञ्जुु भण्डारीले स्वागत गरेकी थिइन् ।
शिववस्ती टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र आचार्य, अनुशासित आमा समूहका अध्यक्ष सावित्री अधिकारी, पोखरा-२९ का वडासदस्य सुकमाया विक, नेपाली कांग्रेस पोखरा ३३ का सभापति तीलकप्रसाद अधिकारीलगायतले कार्यक्रममा बोलेका थिए ।





