उद्योगपति पाण्डे परिवारद्वारा ‘राष्ट्रिय महिला पत्रकारिता पुरस्कार’ स्थापना

पोखरा । पोखराका वरिष्ठ उद्योगपति हरिप्रसाद पाण्डे र तुलसा पाण्डेले डा शान्ति पाण्डे स्मृति राष्ट्रिय महिला पत्रकारिता पुरस्कार स्थापना गरेका छन् ।

पाण्डे दम्पतीले आफ्नी डा. छोरी शान्तिको जन्मदिनको अवसर पारेर उक्त पाँच लाख रुपैयाँको पुरस्कार कोष स्थापना घोषणा गरेका हुन् । पुरस्कारको सञ्चालन र व्यवस्थापन प्रेस चौतारी नेपालले गर्नेछ ।

पुरस्कारका लागि पाण्डे परिवारद्वारा स्थापित मातृसेवा प्रतिष्ठान नेपालले पाँच लाख रुपैयाँको अक्षयकोषको व्यवस्था गरेको हो ।
प्रेस चौतारी नेपाल महिला विभागका प्रमुख जमुना वर्षा शर्माका अनुुसार हरेक वर्ष प्रदान गरिने सो पुरस्कारको राशि ५० हजार एक सय ११ रुपैयाँ हुनेछ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले अक्षयकोषलाई दायाँबयाँ हुन नदिने प्रतिवद्धता जनाए । उनले नलेख्ने पत्रकारलाई पुरस्कार दिएर प्रतिष्ठानको अपमान नगरिने स्पष्ट पारे । लेख्ने पत्रकार नभेटेको अवस्थामा पुरस्कार चौतारीको सीमाभन्दा बाहिर जान सक्ने व्यवस्था गर्ने योजना रहेको उनले सुनाए ।

उद्योगपति पाण्डेले प्रतिष्ठानले आफ्नो जन्मभूमि, कर्मभूमि र सिंगो देशलाई कार्यक्षेत्र बनाएर शिक्षा, स्वास्थ्य र विचार निर्माणको क्षेत्रमा काम गरेको बताए ।

उनले नेपाल पत्रकार महासंघ कास्कीमा २५ हजार एक सय एक रुपैयाँको पुरस्कार स्थापनाका गरिने जानकारी दिए । आफ्नी छोरीको स्मृतिमा दुई सयभन्दा बढी नर्सिङ शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरेको पाण्डेले बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, एमाले प्रचार विभागका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीक, न्यूनतम् पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गंगाधर पराजुली, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य कञ्चन थापा, गण्डकी प्रदेश अध्यक्ष ईन्द्रप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, कास्की शाखा अध्यक्ष बिमला भण्डारी, पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button