
पोखरा । पोखरा महानगरपालिका वडा नं. १० कुँडहरस्थित कुँडहर आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति र दिवा खाजा सहयोग गरिएको छ । पोखरा-१० बुद्धचोकस्थित बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरले ११ औं वार्षिकोत्सवको अवसरमा विद्यालयलाई उक्त सहयोग गरेको हो ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक नन्दकिशोर बरालले विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये जेहेन्दार र आर्थिक विपन्न भएका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति प्रदान गर्नुका साथै दिवाखाजा सहयोग गरेमा आभार प्रकट गरे ।
उनले विद्यालयको स्तरोन्नतिका लागि प्रत्येक वर्ष तिहारमा देउसीभैलो कार्यक्रममार्फत आथिक रकम संकलन गर्दै आइरहेको र आगामी वर्षमा आयोजना हुने देउसीभैलोमा समेत बबि ब्यूटीपार्लरको तर्फबाट सहयोगको अपेक्षा राखे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिता तिमिल्सिनाले सरकारी विद्यालय सञ्चालन गर्न गाह्रो रहेको भन्दै विभिन्न दाताको सहयोगबाट नै विद्यालय सञ्चालनमा सहयोग पुुगेको बताइन् ।
सरकारले विद्यालयलाई आवश्यक पर्ने सामग्री प्रदान नगरे कै कारण विद्यार्थी सिकाइमा प्रभावकारी ढंगले अघि बढ्न नसकेको उनको तर्क थियो ।
बबि ब्यूटी सैलुनका सञ्चालक बबिता केसी कार्कीले स्थापना कालदेखि नै वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक काम गर्दै आइरहेको बताइन् ।
यस पटक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइमा केही सहयोग पुगोस् भन्ने अभिप्राय राखिएको उनले बताइन् । आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिइने उनले स्पष्ट पारिन् ।
कार्यक्रममा पोखरा-१० का वडा सदस्य नरदेवी गुरुङ, बबि ब्यूटी सैलुुनका म्यानेजर सन्तोष कार्की, विद्यालयका शिक्षक प्रतिनिधि टेकबहादुर थापा, शिक्षक अभिभावक संघका सदस्य रीतु केसीलगायत सहभागी थिए ।
विगतमा पोखराका वडाहरुले सिफारिस गरेका आधारमा निःशुल्क ब्यूटीसीयन तालिम प्रदान गर्दै आउको सैलुनका म्यानेजर तथा ब्यूटीसियन सुमित्रा केसीले जानकारी दिइन् । वार्षिकोत्सवको अवसरमा ब्यूटीपार्लरबाट हुने हरेक सेवामा विशेष छुट प्रदान गरिने बताइएको छ ।





