
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. १० मकैखोलास्थित जनकल्याण माविका पाँच विद्यार्थीलाई आर्थिक सहयोग गरिएको छ ।
जन्मदिनको अवसर पारेर नेपाली कांग्रेसका नेता कृष्ण केसी, पोखरा-२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने र पत्रकार महेन्द्र ढुंगानाले विद्यालयमै पुगेर संयुक्तरुपमा उक्त सहयोग गरेका हुन् । विद्यालयका विपन्न परिवारका पाँच विद्यार्थीलाई आर्थिक सहयोग गरेको पत्रकार ढुंगानाले जानकारी दिए ।
कार्यक्रममा कास्की कांग्रेसका पूर्वसभापतिसमेत रहेका केसीले फजुल खर्च गरेर जन्मदिन मनाउने परिपाटीलाई चिर्दै आफूहरुले विगतदेखि नै सामाजिक कार्य गर्दै आएको बताए ।
उनले भने, ‘समग्र शिक्षा क्षेत्रमा राज्यले जति पहल गर्नुपर्ने हो त्यो पुरा हुन सकेको छैन्, त्यसको सुधारका लागि सरकारलाई झक्झकाउन हामी लागिपर्नेछौँ ।’
वडाध्यक्ष लामिछानेले जन्मदिनको अवसरमा विद्यालयसँग जोडिएर गरिएको सहयोगलाई आगामी दिनमा निरन्तरता दिने बताए । उनले अन्य संघसंस्थालाई विद्यालयसँग जोडिन आग्रह गर्ने प्रतिवद्धता जनाए ।
पत्रकार ढुंगानाले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा प्रश्न आउने गरेको भन्दै यसको गुणस्तरीयताप्रति सबै क्षेत्र बीच गहन छलफल आवश्यक रहेको औँल्याए ।
विद्यालयका प्रधानाध्यापक बोधराज बास्तोलाले जन्मदिनको अवसरमा विद्यालयमा गरेको सहयोगप्रति आभार प्रकट गरे । उनले यो सहयोगले विद्यार्थीको पढाइप्रतिको रुची बढ्नुका साथै बीचमै पढाई छोड्नेक्रम घटाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषिराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालक सहायक प्रध्यानाध्यापक हरिहर सुवेदीले गरेका थिए । कक्षा १२ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।





