
पोखरा । पछिल्लो १२ घण्टामा कास्कीमा सबैभन्दा धेरै वर्षा भएको छ । कास्कीको सिक्लेसमा ८३ दशमलव ८ मिलिमिटर वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै गण्डकी प्रदेशअन्तर्गत लमजुङमा पनि भारी वर्षा मापन भएको छ । लमजुङको खुदीबजारमा ७३ दशमलव २ मिलिमिटर वर्षा भएको मापन गरिएको छ ।
साथै मकवानपुरको भोर्लेनीमा ८० दशमलव ६ मिलिमिटर पानी परेको । उदयपुरको कटारीमा ७९ दशमलव ४ मिलिमिटर, मकवानपुरगढीमा ७६ दशमलव ८ मिलिमिटर, ओखलढुंगाको मानेभञ्ज्याङमा ६३ दशमलव ४ मिलिमिटर र बाराको रजुवामा ६० दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ७ बजेसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।





