पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा-५ ले पाठेघरसम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम आयोजना गर्याे । कार्यक्रममा सहभागी करिब ८० जना महिलालाई वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. चण्डीका पण्डित न्यौपानेले प्रशिक्षण दिएकी थिइन् ।
उनले महिलाका पाठेघर अत्यन्तै संवेदनशील अंग भएको भन्दै यसको हेरचाहमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘अझै पनि कतिपय महिला पाठेघरका समस्याका बारेमा बोल्न खोज्दैनन्, यसले स्वयं व्यक्तिको जीवन नै धरापमा परिरहेको छ ।’
विश्वमा हरेक ७८ जना महिलामध्ये १ जनामा पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांकबारे उनले जानकारी गराइन् । यस्तै पाठेघरको क्यान्सर भएका हरेक १ सय ८ जनामा १ जनाको ज्यान जाने गरेको भन्दै उनले सबै महिला पाठेघरको क्यान्सरको जोखिममा रहेको उल्लेख गरिन् ।
पाठेघरको क्यान्सर भएका महिलामध्ये ९० प्रतिशत महिला ४० वर्षभन्दा बढी उमेरका रहेको डा. न्यौपानेले जानकारी दिइन् । उनका अनुसार ६० वर्षमाथिका महिलामा यो समस्या अध्यधिक छ ।
विश्वभरमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको क्यान्सर पाचौँ स्थानमा आउने भए पनि नेपालमा पाठेघरको क्यान्सर पहिलो नम्बरमै आएको उनले सुनाइन् । विश्वमा हरेक वर्ष ५ लाख महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र २ लाख महिलाको मृत्यु हुने गरेको उनले बताइन् ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पाठेघरसम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम आयोजना गरेर निकै सह्रानीय काम गरेको बताए । उनले प्रशिक्षणले पाठेघरको समस्या न्यूनीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनमा यस्ता कार्यक्रममा वडा कार्यालयले साथ दिने उनले प्रतिवद्धता जनाए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति धर्मराज अधिकारीले उपशाखाले पाठेघरसम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम आयोजना गरेर निकै राम्रो काम गरेको भन्दै प्रशंसा गरे । उनले महिलाले तालिम लिने काम मात्र नगरेर तालिममा सिकेका कुरा व्यवहारमै लागू गर्न आवश्यक रहेको बताए ।
पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य एवं वडा सदस्य हरिमाया विकले पाठेघरको क्यान्सर प्राणघातक रोग भएकाले लुकाएर राख्न नहुने भन्दै यसतर्फ बेलैमा सचेत हुन आवश्यक रहेको बताइन् ।
वडासदस्य कल्पना क्षेत्रीले महिलामा हुने पाठेघरको समस्या सबैभन्दा ठूलो रोग भएको भन्दै बेलैमा उपचार गर्न सकिए मृत्युको मुखबाट बच्न सकिने बताइन् ।
कार्यक्रम संयोजक एवं संस्थाकी सदस्य सावित्रा कोइरालाले पाठेघरको समस्या बढिरहेको सन्दर्भमा आयोजित कार्यक्रम महत्वपूर्ण हुने दावी गरिन् । उनले आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रम आयोजना गर्दै जाने बताइन् ।
रेडक्रम उपशाखा सभापति राजु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस सिद्धान्त वाचन नेत्रमाया अधिकारीले गरेकी थिइन् भने सचिव केशव कोइरालाले सञ्चालन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution