एक दिवसीय क्रिकेट : श्रीलंकासँग हार्याे भारत

  • पोखरा न्यूज
  • २०८१ श्रावण २१
एक दिवसीय क्रिकेट : श्रीलंकासँग हार्याे भारत

काठमाडौँ । श्रीलंकाले जारी एक दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २४१ रनको लक्ष्य पछ्याएको भारतले ४२.२ ओभरमा अलआउट हुँदै २०८ रन मात्र बनाएको थियो । भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाए ।

पहिलो विकेटको लागि ९७ रनको साझेदारी भएको भए पनि त्यसपछि लगातार विकेट ढल्दा भारतले हारको सामना गर्न पुग्यो । अक्षर पटेलले ४४ र शुभमन गिलले ३५ रन बनाएका थिए ।

भारतलाई अल आउट गर्ने क्रममा श्रीलंकाका बलर जेफ्री भन्डरसेले ३३ रन खर्चेर ६ विकेट लिए । चरिथ असलंकाले ३ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।

श्रीलंकाका लागि आभिस्का फर्नान्डो र कमिन्दु मेन्डिसले ४०-४० रन बनाएका थिए भने दुनिथ वेल्लालागेले ३९, कुसल मेन्डिसले ३० र चरिथ असलंकाले २५ रन बनाएका थिए ।

त्यस्तै भारतका बलर वाशिंटन सुन्दरले ३ र कुलदीप यादवले २ विकेट लिएका थिए ।

यो जितपछि ३ खेलको श्रृंखलामा श्रीलंका १-० ले अगाडि भएको छ । यसअघि खेलिएको पहिलो खेल टाइ भएको थियो । अब अन्तिम खेल बुधबार खेलिँदै छ । श्रृंखला हारबाट जोगिन भारतमाथि जित्नैपर्ने दबाब छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस