पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता घोषणा

  • पोखरा न्यूज
  • २०८१ श्रावण २१
पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता घोषणा

पोखरा । नवआदर्श सामुदायिक समाजले लामाचौर तीज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको घोषणा गरेको छ ।

समाज स्थापनाको २८औँ वार्षिकोत्सव एवं २६औँ संस्करणको आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको घोषणा गरिएको हो । तीज महोत्सव तथा भलिबल प्रतियोगिता भदौ १९ देखि २१ गतेसम्म सञ्चालन हुने छ ।

हरितालिका तीजको अवसरमा लामाचौरस्थित ईन्द्रराज्य लक्ष्मी मावि परिसरमा सञ्चालन हुने राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबले प्रतियोगितामा पुरुष तथा महिलातर्फ करिब पाँच, पाँच टिम सहभागी हुने अपेक्षा गरिएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले जानकारी दिए ।

प्रतियोगिताका लागि पुरुषतर्फ नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी, गण्डकी प्रदेश र मणिमुकुन्द भलिवल क्लबलाई आमन्त्रण गरिएको छ ।

यस्तै महिलातर्फ त्रिभुवन आमी, नेपाल पुलिस, एपीएफ, न्यू डायमण्ड एकेडेमी र एभरेष्ट भलिबल क्लबलाई आमन्त्रण गरिएको अध्यक्ष भण्डारीले जनाकारी दिए ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता भदौ १८ देखि सुरु गर्ने तयारी छ ।

महोत्सवअन्तर्गत अन्तरमहिला समूह तीज गीत प्रतियोगिता, अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टल, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने स्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका प्रथम उपाध्यक्ष दिनेश भण्डारीले बताए ।

यसैबीच समाजले कार्यसमिति, सल्लाहकार, पूर्वअध्यक्षलगायत विभिन्न समिति र उपसमिति संयोजकसहितको संयुक्त भेला आयोजना गरी महोत्सव तयारीबारे छलफल गरेको छ ।

सो अवसरमा पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले अहिलेको प्रतिकूल व्यवसायिक अवस्थामा मेला महोत्सव सम्पन्न गर्न धेरै चुनौति रहेको बताए । उनले जस्तोसुकै चुनौति भए पनि महोत्सव एउटा ब्राण्ड नै बनिसकेकोले यसलाई सम्पन्न गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

समाजले २०५४ सालदेखि नै मौलिक संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ तीज महोत्सव सञ्चालन गर्दै आइरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस