एमालेमा घटुवाः गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा केन्द्रीय सदस्य सरह

  • पोखरा न्यूज
  • २०८१ श्रावण २३
एमालेमा घटुवाः गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा केन्द्रीय सदस्य सरह

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मासहित सात वटै प्रदेशका अध्यक्षले केन्द्रीय सदस्य सरहको मान्यता पाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)-१० मा प्रदेश अध्यक्षलाई पदेन केन्द्रीय सदस्य सरहको मान्यता दिने उल्लेख गरिएको छ । यसअघि प्रदेश अध्यक्षलाई पार्टीको पोलिटब्यूरो सदस्य सरहको मान्यता दिइएको थियो ।

गण्डकीका शर्मासहित कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, मधेसका चन्द्रेश्वर मण्डल, बागमतीका कैलाश ढुङ्गेल, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णाली प्रदेशका गुलाबजङ्ग शाह र सुदूरपश्चिमका कृष्णप्रसाद जैसी पदेन केन्द्रीय सदस्य भएका छन् ।

एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार पार्टीको संरचनाअनुसार एक तहमाथि लैजान नमिल्ने भएकाले यसअघि भएको निर्णय पुनःविचार गर्दै प्रदेश अध्यक्षलाई पदेन केन्द्रीय सदस्यसरह जिम्मेवारी दिइएको हो ।

यसैगरी, एमालेले पुरनसिंह दयाल (वैतडी), मैना भण्डारी (गुल्मी) र तारा राई (मोरङ)लाई केन्द्रीय कमिटीबाट हटाएको छ ।

दयाल भूगोलको काममा नखटेको, भण्डारी बिरामी परेको र राई विदेश भएकाले जिम्मेवारीबाट हटाएको एमाले अध्यक्ष ओलीले जारी गरेको अपानीमा जनाइएको छ ।

अध्यक्ष ओलीले गत असार १८ र २८ तथा साउन १७ गते बसेको सचिवालय बैठकको निर्णय, केन्द्रीय कमिटी र निकायमा पदाधिकारीसहित सदस्यको मनोनयन, केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यको नयाँ कार्यविभाजनसम्बन्धी निर्णय जानकारी तथा कार्यान्वयन गर्न अपानी-१० जारी गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस