डहरेदेउरालीमा ‘भगवान भैरव’ भेटिएको दावी

  • पोखरा न्यूज
  • २०८१ श्रावण २४
डहरेदेउरालीमा ‘भगवान भैरव’ भेटिएको दावी

पर्वत । पर्वत र स्याङ्जा जिल्लाको संगम ‘डहरेदेउराली’ मा भगवान भैरवको करिब १०० फिट अग्लो अर्धकद फेला परेको दावी गरिएको छ । ‘डहरेदेउराली’ को आश्रम स्थलबाट भवानी मन्दिर जाने बीच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान भैरवको शिर देख्न सकिन्छ ।

केही दिन अघि ‘डहरेदेउराली’ मा साधक प्रकट आनन्दले साधनामा रहँदा भगवान भैरव उत्तरतर्फ फर्केर बसेको थाहा पाएपछि उनले आँखा खोलेर हेर्दा देखेको बताए ।

उनले उक्त स्थलमा मोक्षद्वार र गुफा रहेको ध्यान दृष्टिबाट देखेको बताएका थिए । साधक आनन्दका अनुसार उक्त मोक्षद्वारबाट प्रवेश गरेमा मोक्ष पाइने उल्लेख गरेका थिए ।

त्यस ठाउँमा सदियौँदेखि भवानी दुर्गाको पूजा गर्न, ध्यान, योगा गर्न सन्त महात्मा ऋषि आउने गरेका थिए । साधक आनन्दले भने जसरी भगवान भैरव र मोक्षद्वार भेटिए पनि गुफा भने भेट्न नसकिएको श्री मोक्षद्वार बालसिद्ध योगाश्रमका अध्यक्ष दीपक श्रेष्ठले बताए ।

उनका अनुसार ‘उत्तरतर्फ कामधेनु गाईको शिर, मोक्षद्वार, भैरव, सिद्धबाबा, दक्षिणतर्फ आशनमा कृष्ण, हनुमानजी, सिंह, कालीखर्कतर्फ भगवती दुर्गाको एक पाउ रहेको, पूर्वतर्फ झाँक्री महाराज र पश्चिमतर्फ ईच्छाधारी नाग छन् ।

साधक प्रकट आनन्दजीले डहरेदेउरालीमा गुफा रहेको बताए पनि खोजी कार्य भइरहेको र हालसम्म उनले भनेजस्तो गुफा फेला परेको छैन ।

यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्ने लक्ष्यका साथ २०४३ सालमा योगी नरहरिनाथको सक्रियतामा महायज्ञ गरिएको थियो । २०३२ सालदेखि उक्त स्थानको संरक्षण एवं पूजाआजा गर्दै आएका पशुपत्यानन्द गिरीले जानकारी दिए ।

महायज्ञका क्रममा मुक्तिनाथबाट अग्निज्वाला ल्याइएको जानकारी दिँदै उनले उक्त अग्निज्वाला अहिले पनि निरन्तर बलिरहेको बताए ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ६३ किमी दुरी रहेकोमा ५७ किमी पक्की सडक र ६ किमी कच्ची सडक छ । डहरे देउराली समुद्री सतहबाट करिब दुई हजार दुई सय ५९ मिटर छ ।

स्कन्दपुराणमा उल्लेख भएअनुसार यस पर्वत परापूर्वकालमा महान् ऋषिमुनीले तपस्या, ध्यान र योग गर्ने थलो थियो ।

यस पर्वतलाई ‘नीलकण्ठ पर्वत’ को नामले पनि पुकारिन्छ । यस विशाल पहाड पर्वत जिल्लाको कार्कीनेटा, थापाठाना र भंगारा तथा स्याङ्जा जिल्लाको आरुचौर र पञ्चमूल गाउँको सीमावर्ती क्षेत्रमा पर्छ  ।

भानुभक्तको वाल्मीकि रामायणको अशमेद काण्डमा पनि यस पर्वतबारे निकै सुन्दर ढंगबाट व्याख्या गरिएको छ । यस लेक र देउरालीलाई धार्मिक रूपमा पनि निकै मान्यता दिइएको यस दृष्टान्तबाट पुष्टि हुन्छ  ।

नीलकण्ठ पर्वतबाट कसरी डहरे देउराली बन्यो ? यसको कथा रोचक कथा छ । योगी नरहरिनाथले लेखेका छन्, ‘यस पहाडमा एक समय डहरा ऋषिले तपस्या गरेका हुनाले यस पहाडको नाम डहरेदेउराली बन्न पुग्यो ।

यसैगरी यस पर्वतमा लामा लामा धेरै डहर भएकाले यसको नाम ‘डहरेदेउराली’ भएको हुन सक्ने आकलन गर्न सकिन्छ ।

यही पर्वतमा ब्रह्माचारी षडानन्द अधिकारीले ३७ वर्षसम्म कठोर तपस्या गरेका थिए । पौराणिक मान्यताअुनसार निःसन्तान दम्पतिले यस स्थानको दर्शन गरेमा सन्तान प्राप्त हुने विश्वास गरिन्छ  ।

यस स्थानमा विवाह, व्रतबन्ध जस्ता विशेष शुभकार्य पनि गर्ने गरिन्छ  । विशेषतः बालाचतुर्दशी, चैतेदसैँ, महाशिवरात्री, गुरुपूर्णिमा, बडादसैँ जस्ता विशेष पर्वमा पूजाका लागि भक्तजनको ठूलो भिड लाग्ने गर्छ  ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस