पोखरा । गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलासिस रेकर्ड मनिटोरिङ प्रणालीको विकास गरिएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । सफ्टवेयर गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले शुभारम्भ गरे ।
मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलासिस गर्ने बिरामीको सही तथ्यांकका विषयमा जानकारी लिन मद्दत पुग्ने बताए ।
यो प्रणालीसँगै एउटा अस्पतालबाट उपचारका लागि अर्को अस्पताल जाँदा पनि दोहोरोपन नहुने तवरले उपचार गर्न सहायक सिद्ध हुने उनले विश्वास व्यक्त गरे ।
‘डायलासिस गर्ने बिरामीको वास्तविक तथ्यांक प्राप्त गर्न सफ्टवेयर सहायक सिद्ध हुनेमा विश्वस्त छु’, उनले भने, “तथ्यांकअनुसार सेवा प्रवाहमा सहजता बनाउन सफ्टवेयरका माध्यम मदत पुग्नेछ ।’
प्रदेशको डायलासिस सेवालाई सरल बनाउन सफ्टवेयरले सहयोग पुग्ने उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले प्रदेश सरकारले निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको बताए ।
उनका अनुसार वर्षमा ८० देखि ८५ करोड रकम डायलासिस सेवा प्रवाहमा मात्र प्रदेश सरकारले लगानी गरेको छ ।
प्रदेश सरकारले अब निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने विषयलाई पनि सोच्नुपर्ने आवश्यकता उनले औँल्याए ।
तथ्यांकअनुसार प्रदेशका ४१ अस्पतालको १७ युनिटबाट डायलासिस सेवा प्रवाह गरिएको छ । प्रदेशमा सात सय ७३ जनाले डायलासिस सेवा लिइरहेका छन् ।