पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं २ ले सार्वजनिक सुनुवाई गरेको छ । सुशासन प्रवर्द्धनन्तर्गत वडा कार्यालयले प्रवाह गरेका सेवाबारे जनतालाई जानकारी दिने तथा जनताका गुनासा सुन्ने उद्देश्यले बिहीबार सार्वजनिक सुनुवाई गरिएको वडाध्यक्ष भोजबहादुर गुरुङले बताए ।
कार्यक्रममा वडा समिति, टोल विकास संस्था, वडाका सामुदायिक संघसंस्थाका प्रतिनिधिका साथै वडावासी सहभागी थिए ।
वडाध्यक्ष गुरुङले वडा कार्यालयले प्रवाह गरेका सेवा सुविधाका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।
उनले वडाका लागि मादी गाउँपालिकाबाट एक करोड ३६ लाख र गण्डकी प्रदेश सरकारबाट १५ लाख रुपैयाँसहित एक करोड ५१ लाख रुपैयाँ प्राप्त भएको र उक्त विभिन्न योजना तथा कार्यक्रममा विनियोजन भएको बताए । उनले वडाको योजना तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन भएको दावी गरे ।
मादी गाउँपालिका उपप्रमुख कल्पना गुरुङले वडा कार्यालयले गर्ने सार्वजनिक सुनुवाई कार्यक्रमले गाउँपालिकाकै सुशासन प्रवर्द्धन हुने विश्वास व्यक्त गरिन् ।
उनले २ नम्बर वडा जस्तै अन्य वडाले पनि सार्वजनिक सुनुवाई गरेर आफूले गरेका कामको बारेमा सरोकारवालालाई जानकारी दिनुपर्नेमा जोड दिइन् ।
वडासदस्य दिलबहादुर गुरुङले वडासमिति भनेको जनताको सबैभन्दा नजिकको सरकार भएकोले जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।
अहिलेसम्मका वडा कार्यालयको सेवा प्रवाह सन्तोषजनक रहेको बताउँदै गुरुङले आगामी दिनमा पनि जनताको जीवनशैलीमा परिवर्तन गर्ने खालका कार्यक्रम ल्याउन सुझाव दिए ।
वडासदस्य पूर्णसुब्बा गुरुङले आफूहरुले सकेसम्मको सेवा वडावासीलाई दिएको दावी गरिन् । उनले जुनसुकै समयमा पनि आफूहरु वडावासीको सेवामा तत्पर रहने प्रतिवद्धता जनाइन् । कार्यक्रम सञ्चालन वडासचिव वसन्त थापा मगरले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution