पोखराको हर्पनखोला किनारमा ५० वटा बाँसका बिरुवा रोपियो

  • पोखरा न्यूज
  • २०८१ श्रावण २४
पोखराको हर्पनखोला किनारमा ५० वटा बाँसका बिरुवा रोपियो

पोखरा । पोखरा महानगरपालिका वडा नं. २३ बाम्दीस्थित हर्पनखोला किनारमा ५० वटा बाँसका बिरुवा रोपिएको छ ।

पचासौँ भूसंरक्षण दिवसको अवसरमा बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकीको व्यवस्थापन र पोखरा-२३ को संयोजनमा उक्त बिरुवा रोपिएको हो ।

बाँसका बिरुवा रोपेर जिल्ला समन्वय समिति कास्की प्रमुख लिलाधर पौडेलले कार्यक्रम शुभारम्भ गरे । सो अवसरमा जिसस प्रमुख पौडेलले जलवायु उत्थानशीलताका लागि व्यवस्थित जलाधार भएको बताए ।

जल, जमिन र जंगलको संरक्षण नै समृद्धिको मुख्य आधार भएको भन्दै पौडेलले व्यवस्थित जलाधारबाट नै जलवायु परिवर्तनका असर न्यूनीकरण हुने उल्लेख गरे ।

विकास निर्माण पर्यावरणमैत्री बनाउनेतर्फ पनि ध्यान दिन उनले आग्रह गरे । वातावरण मैत्री विकास विना दिगो विकासका लक्ष्य प्राप्ति असम्भव रहेको भन्दै प्रमुख पौडेलले वृक्षरोपणलगायतका कार्यक्रमले जलवायु उत्थानमा सघाउ पुग्ने स्पष्ट पारे ।

बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकीका निमित्त कार्यालय प्रमुख अमर अधिकारीले रोपिएका बिरूवाको उचित स्याहार, सम्भार र रेखदेखमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा पोखरा-२३ का वडाध्यक्ष रामकाजी गुरु, वडासदस्य चेतबहादुर क्षेत्रीसहितका जनप्रतिनिधि र स्थानीय सहभागी थिए ।

हर्पनखोलासहित आसपासका क्षेत्रलाई बाढीको जोखिमयुक्त क्षेत्र मानिन्छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस