पोखरा । कास्कीमा बुधबार एकै दिन ४० जना डेङ्गी सङ्क्रमित भेटिएका छन् । योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेङ्गीका बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गत पुस यता यहाँका तीन सय ६२ जनामा डेङ्गीको सङ्क्रमण भएको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिए ।
“समयमा नियन्त्रण गर्न नसके डेङ्गीले भयावह रुप लिन सक्छ”, उनले भने, “पोखरा महानगरभित्रका केही वडामा तीव्र रुपमा डेङ्गीको सङ्क्रमण फैलिएको छ ।”
उनले डेङ्गीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने बताए । डेङ्गी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए ।
चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको उनको भनाइ छ । समयमा उपचार नभए डेङ्गीबाट बिरामीको मृत्युसमेत हुन सक्ने प्रमुख नेपालीले बताए ।
पोखरा महानगरपालिका डेङ्गीबाट बढी प्रभावित रहेको पोखरा महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए ।
उनका अनुसार जिल्लाभरिका सङ्क्रमित तीन सय ६२ मध्ये तीन सय १९ सङ्क्रमित पोखरा महानगरपालिकाभित्रका हुन् । सबैभन्दा धेरै वडा नं ८ मा १६ जनामा सङ्क्रमण देखिएको जनाइएको छ ।
गत वर्ष कास्कीमा तीन हजार ६९ जनालाई डेङ्गी लागेको थियो । तीमध्ये पोखरा महानगरपालिकामा दुई हजार आठ सय नौ थिए ।
“असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहन्छ, यसबाट बच्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो”, जनस्वास्थ्य निरीक्षक रेग्मीले भने ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution