डेङ्गी सङ्क्रमण : पोखरा महानगरले ‘खोज र नष्ट गर’ अभियान सुरु गर्ने

  • पोखरा न्यूज
  • २०८१ श्रावण २५
डेङ्गी सङ्क्रमण : पोखरा महानगरले ‘खोज र नष्ट गर’ अभियान सुरु गर्ने

पोखरा । डेङ्गी सङ्क्रमण बढ्न थालेपछि पोखरा महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ ।

बिहीबार यहाँ आयोजित ‘डेङ्गी रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा महानगर प्रमुख धनराज आचार्यले लामखुट्टेका सम्भावित बासस्थानको खोजी गरी नष्ट गर्ने अभियानमा सघाउन नगरवासीलाई आग्रह गरे ।

उनले महानगरभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

उनले महानगरभित्रका ४६ वटै स्वास्थ्य संस्थामा डेङ्गीको परीक्षण तथा उपचार सेवा निःशुल्क गरिएको बताए ।

“डेङ्गीले कुनै पनि बेला भयावह रुप लिन सक्छ, हामी सबै सचेत र सतर्क रहनुपर्ने अवस्था छ”, प्रमुख आचार्यले भने, “आफ्नो घर, कार्यालय र सार्वजनिकस्थल सफा राखौँ, लामखुट्टेको टोकाइबाट जोगिऔँ ।”

डेङ्गीको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने उनको भनाइ छ ।

यो लामखुट्टेले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उनले बताए ।

“डेङ्गी नियन्त्रणको प्रभावकारी उपाय भनेको घर वरपरि पानी जम्न नदिनु हो, यो लामखुट्टे जमेको सफा पानीमा बस्छ र दिउँसोमा मात्र मानिसलाई टोक्छ”, उनले भने ।

डेङ्गीको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने जनस्वास्थ्य निरीक्षक पाण्डेले बताए ।

स्वास्थ्य कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।

डेङ्गीको सङ्क्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस