नागको पूजा गरी मनाइयो ‘नागपञ्चमी’

  • पोखरा न्यूज
  • २०८१ श्रावण २५
नागको पूजा गरी मनाइयो ‘नागपञ्चमी’

पोखरा । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइएको छ ।

आज बिहानै गुरु पूरोहीतले यजमानका घरघरमा पुगेर मूलद्वारामा नागको प्रतिमा अङ्कीत तस्वीर टाँसेर पूजाअर्चना गरेका छन् ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

नागपञ्चमीका अवसरमा देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गर्न भक्तजनको घुइँचो लागेको थियो ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ ।

वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ ।

दूषित हावालाई निलेर वातावरण सन्तुलन गर्न उपकारीकार्य गरेकाले प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको पूजाअर्चना गर्ने प्रचलन छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस