पोखराको गण्डकी बोर्डिङ स्कुलका विद्यार्थी मानवसेवा आश्रममा

  • पोखरा न्यूज
  • २०८१ श्रावण २७
पोखराको गण्डकी बोर्डिङ स्कुलका विद्यार्थी मानवसेवा आश्रममा

पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलका विद्यार्थीले मानवसेवा आश्रमको अवलोकन भ्रमण गरेका छन् ।

विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीले मानवसेवा आश्रमको भ्रमण गर्नेक्रममा खाद्यान्न सामग्री पनि सहयोग गरेका थिए ।

‘सेवा नै परम धर्म’ भन्ने मूल भावबाट प्रेरित भएर विद्यार्थीले उक्त सहयोग गरेको विद्यालयले जनाएको छ ।

विद्यार्थीले पोखरा-२५ हेमजास्थित मानवसेवा आश्रमको अवलोकन भ्रमण गरेका हुन् ।

नेपाललाई मानवीयताको देश बनाउने लक्ष्यमा समर्पित ‘मानवसेवा आश्रम’ पोखरामा मात्रै हेमजा र छोरेपाटन गरी दुई ठाउँबाट सञ्चालित छ ।

हेम्जामा एक सय ११ जना र छोरेपाटनमा ६५ जना असहायले आश्रय लिइरहेका छन् । गण्डकी प्रदेशस्थित आश्रमका कास्की, बागलुङ, लमजुङ र गोरखामा शाखा सञ्चालनमा छन् ।

वि.सं.२०८७ भित्र मानवता, परोपकार र सामाजिक विषयको अध्ययन तथा अवलोकन गन्तव्यका रूपमा विकास गर्ने र सातै प्रदेशमा मानसिक स्वास्थ्य लाभ केन्द्र (अस्पताल) स्थापना गर्ने मानवसेवा आश्रमको उद्देश्य छ ।

आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायत कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस