नेपाल प्रहरी श्रीमती संघ गण्डकीको रक्तदान, ५१ युनिट रगत संकलन

  • पोखरा न्यूज
  • २०८१ श्रावण ३०
नेपाल प्रहरी श्रीमती संघ गण्डकीको रक्तदान, ५१ युनिट रगत संकलन

पोखरा । नेपाल प्रहरी श्रीमती संघको ४०औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजना र लायन्स क्लब अफ मेट्रोसिटी पोखराको सहयोगमा पोखरामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) दुर्गा सिंहले नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी कार्यवाहक अध्यक्ष अप्सरा खत्री र लायन्स क्लब अफ मेट्रोसिटीका अध्यक्ष गौतम पौडेललाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरिन् ।

सो अवसरमा डीआइजी सिंहले अस्पतालको शय्यामा छटपटाइरहेका बिरामीका लागि रक्तदान जीवनदान सरह हुने बताइन् । उनले रक्तदान जीवनकै महादान भएकाले यस्तो कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउनुपर्नेमा जोड दिइन् ।

संघकी कार्यवाहक अध्यक्ष खत्रीले लायन्स क्लबसँग सहकार्य गरेर पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा निरन्तर गर्दै जाने स्पष्ट पारिन् ।

मेट्रोसिटी लायन्सका अध्यक्ष पौडेलले कार्यक्रममा साथ र सहयोग प्रदान गर्ने सबैप्रति आभार प्रकट गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा, मेट्रोसिटी लायन्सका सदस्य सुशिल केसीलगायतले बोलेका थिए ।

नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस