पोखराको बाटुलेचौरमा तीज मेलाको तयारी तीव्र

  • पोखरा न्यूज
  • २०८१ श्रावण ३१
पोखराको बाटुलेचौरमा तीज मेलाको तयारी तीव्र

|फाइल तस्बिर

पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरको ऐतिहासिक तीज मेला यस वर्ष स्थानीय आमा समूहले सञ्चालन गर्ने भएका छन् ।

तीज मेला यसअघि हिमालय क्लबले आयोजना गर्दै आएको थियो । क्लबले यस पटक मेला आयाेजना गर्न नसक्ने भएपछि स्थानीय आमा समूह अग्रसर भएका हुन् ।

स्थानीय आमा समूहलाई तीज मेला सञ्चालनको जिम्मेवारी दिइएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।

मेला सञ्चालनसम्बन्धी भेलाले स्थानीय बडहरबोट आमा समूहलाई आयोजक र वडामा क्रियाशील अन्य आमा समूहलाई सह-आयोजक रहने गरी जिम्मेवारी दिइएको वडाध्यक्ष तिमिल्सिनाले बताए ।

शाही कालीन इतिहास जोडिएको बाटुलेचौर तीज मेलाले मुलुककै पुरानो संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको उनले स्पष्ट पारे ।

मेला सम्पन्न गर्न वडासदस्य राजकुमारी बानियालाई संयोजक चयन गरिएको छ । मेलामा विभिन्न समूह बिच तीज गीत प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, विभिन्न खेलकुद गतिविधि, शैक्षिक सम्मानलगायतका कार्यक्रम सञ्चालन गर्ने गरी तयारी भइरहेको वडासदस्य मञ्जु नेपालीले जानकारी दिइन् ।

राजा कुलमण्डल शाहको शासनकालतिरै पवित्र सेती नदी तथा ठूलीपोखरी नुहाएर आएका महिलाले बाटुलेचौरको मैदानलाई विश्रामस्थलको रुपमा प्रयोग गरी गीतमार्फत आफ्ना मनका बह पोख्ने थलोको रुपर्मा लिएका थिए भन्ने किंवदन्ति रहँदै आएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस