आज पुत्रदा एकादशी, यस्तो छ महत्व

  • पोखरा न्यूज
  • २०८१ श्रावण ३२
आज पुत्रदा एकादशी, यस्तो छ महत्व

पाेखरा । पौषशुक्ल पक्का अलावा श्रावण शुक्लपक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार सांसारिक सुख, समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ । सन्तानविहीन रहेका सबैले पुत्रदा एकादशीको व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।

एकादशी व्रत भगवानको उत्सव भएकाले यसलाई नित्यकर्मका रूपमा पालना गर्नुपर्दछ। एकादशी व्रत पालन नगर्दा भगवानको उत्सवप्रति बेवास्ता एवं शास्त्रहरूकै अवज्ञा हुने र विधिपूर्वक व्रत बस्दा विभिन्न फल प्राप्त हुने शास्त्रवचन रहेको छ। यसर्थ एकादशीमा भगवान विष्णुको विशेष पूजा-आराधना गर्नाले सम्पूर्ण पापहरू नष्ट भई भगवानको आशीर्वाद एवं कृपा प्राप्त हुने विश्वास गरिन्छ।

निष्काम भावले व्रत बसी विधिपूर्वक पारण गर्नाले भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ र व्रतीका समस्त मनोकामना पूर्ण हुन्छन्। भविष्यपुराण अनुसार जसले भगवान नारायणको स्मरण गर्दै एकादशीको व्रत गर्दछन्, ती मानिस देहान्त भएपछि सूर्यजस्तै चम्किलो विमानमा सवार भई महाप्रलय नहुँदासम्म विष्णुलोकमा आनन्दपूर्वक निवास गर्दछन्।

यस पुत्रदा एकादशीका आराध्य भगवान् विष्णु हुनुहुन्छ। यो व्रत सर्वप्रथम भद्रावती नगरका राजा सुकेतुमानले गरेका थिए। उनकी पत्नीको नाम शैव्या थियो। लामो समयसम्म सन्तान नभएकाले उनीहरू दुःखी र चिन्तित थिए। सन्तान र त्यसमा पनि पुत्रको चाहनाले उनीहरूको मन निकै व्यथित थियो।

पुत्रदा एकादशी व्रत कथा

धर्मशास्त्रहरू अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य गर्दै आएका थिए । तर ती राजाका सन्तान भने थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवारमा चिन्ता थपिएको थियो । राजा सुकेतुमानका पिता समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी नभएका कारण चिन्तित बन्दै गएका थिए । दिन बित्दै जाँदा एक दिन राजा सुकेतुमान घोडा चढी जङ्गल डुल्दै जाने क्रममा घना जङ्गलभित्र पुगे ।

जङ्गलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको थियो । पानीको खोजीमा उनी झनझन जङ्गलभित्र पुगे । निकै पर उनले पानीको सरोवर देखे तर त्यहाँ ऋषिमूनि आश्रम बनाई वेद पाठ गर्दै बसेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले सरोवरको पानी पिएपछि ऋषिमूनिहरुलाई नमस्कार गरे ।

राजाले सरोवरमा एकत्रित भएर बस्नुको कारणबारे ऋषिमूनिहरुसंग सोधे । ऋषिमूनिहरुले पनि पुत्रदा एकादशी आउन लागेकाले स्नानका लागि भेला भएको जवाफ दिए । राजाले पुत्रदा एकादशीको व्रतबारे ऋषिमूनिहरुसंग जिज्ञासा राख्दा ऋषिमूनिहरुले पुत्र तथा सन्तान प्राप्तिका लागि यस एकादशीको व्रत अनिवार्य भएको बताइदिए । राजाले पनि सबै विधि पुरा गरी पुत्रदा एकादशीको व्रत बसे । फलस्वरूप उनलाई पुत्र प्राप्ति भएको पौराणिक कथा अनुसार आज पनि पुत्रदा एकादशी व्रतको महात्मै महत्त्वपूर्ण मानिन्छ ।

पुत्रदा एकादशीमा के गरिन्छ ?

यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ । यस दिन भगवान् विष्णुको बाल गोपाल रूपको पूजा गर्ने गरिन्छ ।

बाल गोपाल विष्णुको प्रतिमा स्थापना गरी पञ्चामृतले स्नान गराई धूप दीप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाङ जस्ता प्राकृतिक फलफूलहरू चढाइन्छ । एकादशीको भोलिपल्ट द्वादशीका दिन विष्णुलाई अर्घ्य दिएर व्रत र पूजा समापन गरिन्छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस