|फाइल तस्बिर
पोखरा । सोमबार हिन्दूहरुको पवित्र जनैपूर्णिमा पर्व परेको छ । यस दिनको पूर्णिमा तिथि ४७ घटि १९ पलाको रहेको छ अर्थात् सो दिनको रातिमा १२ः३२ मिनेटसम्म रहनेछ । साथै यस दिनमा भद्रा करण १९ घटि ४५ पला अर्थात् दिनमा १ः३१ मिनेटसम्म रहनेछ ।
भद्रा करणमा धार्मिकलगायत महत्वपूर्ण कार्य गर्नु उपयुक्त मानिँदैन । त्यसैले जनैपूर्णिमाका दिन जनै फेर्ने र रक्षाबन्धन अर्थात् डोरो बाँध्ने काम दिउँसो १ः३१ बजेपछि नै गर्नु उपयुक्त हुनेछ । यस दिन जनै फेर्ने र रक्षाबन्धन बाँध्नेबाहेक अन्य सबै काम गर्न भने मिल्ने छ ।
करणमा बब, बालब, कौलब, तैतिल, गद, भद्रा, वणिज, विष्टि, शकुनि, चतुष्पद, नाग र किंष्तुध्न हुन्छन् । यी १२ मध्ये शकुनि र भद्रा करणमा गरिएका महत्वपूर्ण कर्म निष्फल हुन्छ भन्ने गरिन्छ ।
जनैपूर्णिमा पर्व आँफैैमा महत्वपूर्ण पर्व भएकाले जनै फेर्न र डोरो बाँध्न कुनै साइत नचाहिने बताइँदै आएको छ । जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गरेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको हो । यो दोष राजा या राष्ट्र प्रमुखलाई मात्रै लाग्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए ।
“कन्या, धनु, तुला र मकर राशिमा चन्द्रमा हुँदा, भद्रा पाताल लोकमा हुने हुँदा भद्राको दोष पातालवासीलाई मात्रै लाग्छ पृथ्वीवासीलाई लाग्दैन, राजा महाराजालाई समेत दोष नलाग्ने कुराको शास्त्रीय प्रमाण छ”, उनले भने । यही प्रमाणका आधारमा पनि भद्राको दोष नलाग्ने ज्योतिषाचार्यहरुको निष्कर्ष छ ।
बैठकमा प्राडा माधवप्रसाद पाण्डेय, सहप्राध्यापक जयन्त आचार्यलगायत ज्योतिषाचार्यको उपस्थिति थियो ।
यसअघि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि सर्वसाधारणलाई भद्राको दोष नलाग्ने भएकाले जनैपूर्णिमा र रक्षाबन्धनका कर्म गर्न कुनै समस्या नरहेको विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ ।
जनैपूर्णिमा सनातनी हिन्दू धर्मलम्वीले बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको मठको माटो लगाई नुहाएर शुद्ध भई वैदिक विधिपूवर्क मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेरेर जनैपूर्णिमा मनाइन्छ ।
हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छन् । यस पर्वलाई ऋषि तर्पणी पनि भनिन्छ ।
हिन्दू तागाधारीले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नामा तिल, कुशसहित नदी किनार, पोखरीमा गई तपर्ण दिने चलन छ ।
यस दिन विशेषगरी काठमाडौंको गोकर्णमा गई पितृलाई तर्पण दिएमा पुण्य मिल्ने मान्यता छ ।
यो पर्व हरेक वर्ष श्रावण पूर्णिमाका दिन मनाइन्छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन ‘डोरो’ ब्राह्मणले यजमानको नाडीमा बाँधिदिने चलन छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution