लेदोसहितको पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

  • पोखरा न्यूज
  • २०८१ भाद्र ४
लेदोसहितको पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

|फाइल तस्बिर

लमजुङ । लमजुङमा लेदोसहितको पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ ।

आज बिहान यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ दलालमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार गएरातिदेखि निरन्तर परेको पानीले सडक माथिबाट लेदोसहित ढुङ्गामाटो झरेर सडक अवरुद्ध हुँदा यात्रुहरु विचल्लीमा परेका छन् ।

पानी निरन्तर परिरहेको र सडकमा पहिरो आउनेक्रम जारी रहेकाले तत्काल सडक खुलाउन सम्भव नरहेको उनको भनाइ छ ।

यसै ठाउँमा यसअघिसमेत पटकपटक पहिरो झरेर सडक अवरुद्ध भएको थियो । दलालमाथि केही वर्षअघि ढुङ्गा खानी रहेको र सो खानीमा जमेको पानी फुटेर गत असार यता पहिरो आउन थालेको हो ।

बेँसीसहरदेखि तनहुँ, काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । हिमाली जिल्ला मनाङ जानसमेत यही सडक हुँदै जानुपर्छ ।


पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस