मिस मगर नेपालका प्रतियोगी स्याङ्जाको चित्रेमा

  • पोखरा न्यूज
  • २०८१ भाद्र ४
मिस मगर नेपालका प्रतियोगी स्याङ्जाको चित्रेमा

पोखरा । मिस मगर नेपाल २०२४ का प्रतियोगी स्याङ्जाको चित्रे पुगेका छन् । मगर जातिको भाषा, धर्म तथा कला संस्कृतिसम्बन्धी अध्ययन तथा अन्तरक्रियाका लागि उनीहरु चित्रे पुगेका हुन् ।

प्रतियोगिताको ग्राण्ड फिनालेका लागि छनोट भएका ११ जना प्रतिस्पर्धीसहित पोखराबाट स्याङ्जाको चित्रेमा शुक्रबार र शनिबार अध्ययन भ्रमण तथा अन्तरक्रिया गरिएको टिम संयोजक प्रियंका गर्बुजा मगरले जानकारी दिइन् ।

कार्यक्रममा स्याङ्जा हरिनास गाउँपालिकाका उपाध्यक्ष ईन्द्रकुमारी थापा रानाले मगर समुदायको भाषा, संस्कृति पुस्तान्तरण हुन आवश्यक रहेको बताइन् ।

‘मिस मगर नेपालका प्रतियोगिलाई अध्ययन भ्रमणका लागि चित्रे ल्याउनुभएकोमा हामी खुशी छौँ’, उनले भनिन्, ‘स्याङ्जाको चित्रे मगर समुदायको बाहुल्यता भएको गाउँ हो, यहाँ मगर भाषा, संस्कृति अझै पनि छन्, मगर भाषा, संस्कृति हामीले पुस्तान्तरण गर्न आवश्यक छ ।’

प्रतियोगिताले पक्कै पनि मगर समुदायको भाषा, संस्कृति संरक्षणमा सहयोग पुर्याउने उनको विश्वास छ ।

नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष एवं भ्रमण संयोजक पवित्रा थापा मगरले मगरले समुदायको भाषा, संस्कार–संस्कृति बुझाउन चित्रे गाउँ रोजेको बताइन् ।

आयोजक संंस्था एसटी क्रियसन म्यानेजमेन्ट एवं मिस मगर नेपालका निर्देशक सुरज थापा मगरले मगर युवतीको नेतृत्व विकाससँगै भाषा, संस्कृति, इतिहास बुझाउन प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

‘मिस मगर नेपाल २०२४ आयोजना गर्दै गर्दा हामी अहिले सातौँ संस्करणको ग्राण्ड फिनालेमा आइपुगेका छौँ, नेपालको विभिन्न जिल्लाबाट २० जना प्रतियोगी छनोट हुनुभएको थियो’, थापाले भने । विभिन्न चरण पार गर्दै ग्राण्ड फिनालेका लागि ११ जना छनोट भएको उनले बताए ।

कार्यक्रममा मिस मगर नेपाल २०२४ का शीर्ष प्रायोजन निट डेन्टल केयरका निर्देशक वीरबहादर राना (विरेन), नेपाल मगर संघ कास्कीका सहसचिव शिव थापा, चित्रेका टोल संयोजक पहलसिंह राना मगरलगायतले बोलेका थिए ।

प्रतियोगिलाई हरिनास गाउँपालिका-४ चित्रेका मगर समुदायले रोधीखोलादेखि पिपल डाँडासम्म मगर समुदायको मौलिक कौराहा, झाबुरा, पञ्चेबाजासहित स्वागत तथा सम्मान गरेका थिए ।

एसटी क्रियसन म्यानेजमेन्टका अध्यक्ष मानबहादुर घर्ती (एमबी) को अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक सुरज थापामगरले स्वागत र कार्यक्रम संयोजक रुद्र श्रीस मगरले सञ्चालन गरेका थिए । प्रतियोगितको ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुँदैछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस