आज गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

  • पोखरा न्यूज
  • २०८१ भाद्र ५
आज गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुलेटिनमार्फत आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । गण्डकी, बाग्मती र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने, गण्डकी, कोशी, बागमती, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस