बुढासुब्बा मन्दिरमा भक्तजनको घुइँचो

  • पोखरा न्यूज
  • २०८१ भाद्र ५
बुढासुब्बा मन्दिरमा भक्तजनको घुइँचो

सुनसरी । बोलबम मेला सकिएसँगै सुनसरीको धरान-१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो लागेको छ ।

बुढासुब्बामा साउन महिनाभर भाकल पूरा गर्न र बलि चढाउन बन्द गरिएको थियो ।

विराटनगरकी सुमना खत्री साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न भदौ लागेलगत्तै आएको बताइन् ।

इलामका अतित तामाङ पनि सुमना जस्तै बुढासुब्बाको भाकल पुरा गर्न आएको बताउँछिन् ।

बलि चढाउन खुला गरेसँगै बुढासुब्बामा भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो ।

बुढासुब्बा आउने भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल लिएर पूजा गर्न आउने गर्छन् ।

बुढासुब्बामा भाले र गौरिनी मातालाई पोथी वा पोथी नभए अण्डा चढाउने परम्परा छ ।

मन्दिर नजिकै फूलमाला बेच्दै आएका प्रेम पराजुली साउनमा एक महिना बलि चढाउन बन्द गरिएकाले साउन सकिएसँगै भक्तजनको भीड लागेको बताउछन् ।

भक्तजनको भीड बढेपछि फूलमाला व्यापारीको व्यापार वृद्धि भएको उनले बताए ।

बुढासुब्बा नजिकै ७० भन्दा बढी फूलमाला व्यापारी छन ।

बुढासुब्बाका पुजारी डम्बर आलेमगरका अनुसार बलि चढाउन र भाकल बुझाउन मात्र पाँच हजारभन्दा बढी भक्तजन दैनिक आउने गरेका छन् ।

उनले भने, “एक महिना बलि चढाउन र काटमार बन्द थियो । भदौ लागेपछि बलि चढाउन र भाकल पूरा गर्न आउने भक्तजनको सङ्ख्या बढेको छ ।”

साउन महिना, सोह्र श्राद्ध, एकादशी, कृष्णअस्टमी, स्वस्थानीपूर्णिमा, रामनवमीलगायतका बेला बुढासुब्बामा बलि चढाउन बन्द गरिने प्रचलन छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस