
पोखरा । पोखरामा आज ताया मचा नृत्य प्रतियोगिता हुँदैछ ।
गाईजात्रा पर्वको अवसरमा नेवाः खलः कास्कीले यस्तो प्रतियोगिता गर्दै आएकामा यसपटक नयाँबजार सांस्कृतिक समितिले आयोजना गरेको हो ।
प्रतियोगितामा २८ टोलीले सहभागिता जनाइको समिति अध्यक्ष योगेन्द्रमान बाटाजुले जानकारी दिए । प्रतियोगिता गण्डकी प्रदेश संग्रहालय रोडस्थित शिव गणेश मार्गमा हुनेछ ।
यसअघि गत साउन २५ मा सहभागी टोलीको प्रस्तुतिको समय गोलाप्रथाबाट निर्धारण गरिएको थियो ।
प्रतियोगिताका लागि पोखरा महानगरपालिका वडा नं. ९ ले सहयोग गरेको छ । प्रतियोगिताको विजेतालाई तीन लाख एक रुपैयाँ, द्वितीय हुनेलाई दुई लाख एक रुपैयाँ, तृतीय हुनेलाई एक लाख एक रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार एक रुपैयाँ प्रदान गरिने छ ।
यस्तै महिलातर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजारसहित प्रमाणपत्र प्रदान गरिने छ ।





