पोखराको चिप्लेढुंगामा ‘रैथाने बजार’ सञ्चालन

  • पोखरा न्यूज
  • २०८१ भाद्र ९
पोखराको चिप्लेढुंगामा ‘रैथाने बजार’ सञ्चालन

पोखरा । स्थानीय रूपमा उत्पादित तरकारी तथा खाद्यवस्तु बिक्रीका लागि पोखराको चिप्लेढुङ्गामा सञ्चालनमा ल्याइएको ‘रैथाने बजार’ को शुभारम्भ गरिएको छ ।

पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारमा सञ्चालित उक्त रैथाने बजारको शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन् ।

कास्की तथा वरपरका जिल्लामा उत्पादित रैथाने बाली एवं अग्र्यानिक वस्तु सुपथ मूल्यमा उक्त स्थानबाट बिक्री गरिने जानकारी दिँदै स्थानीयस्तरमा उत्पादित कृषि उपज बिक्रीका लागि हाल आठवटा सटर छुट्याइएको नगरप्रमुख आचार्यले बताए । रैथाने (परम्परागत) बालीको प्रवर्द्धन र मानव स्वास्थ्यलाई ध्यान दिँदै यस्तो बजारको अवधारणा ल्याइएको उनले उल्लेख गरे ।

रैथाने बाली लोप हुने अवस्थामा रहेकाले यसको प्रवर्द्धनका साथै यस्ता बाली उत्पादनतर्फ किसानलाई आकर्षण गर्न बिक्री केन्द्र स्थापना गरिएको नगरप्रमुख आचार्यले बताए । अन्य वस्तुभन्दा केही महँगो भए पनि यस्ता वस्तुले मानव स्वास्थ्यमा असर नगर्ने उनको भनाइ छ ।

“पोखरा तथा कास्कीका गाउँपालिकामा उत्पादित रैथाने बालीलाई ‘ब्राण्डिङ’ गरी विदेशसम्म बजारीकरण गर्नसक्यौँ भने अर्थतन्त्रमा पनि सुधार आउने छ”, प्रमुख आचार्यले भने । युवालाई विदेश पलायनबाट रोक्न कृषिमा अनुदान दिने योजनामा नगर रहेको भन्दै यसले युवालाई कृषिकर्मतर्फ आकर्षण गर्ने उनले बताए ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकीका उपसचिव नीलकण्ठ पोखरेलले किसानको उत्पादन सिधैँ उपभोक्ताले खरिद गर्न पाउने भएकाले सुपथ र स्वस्थ्य खाद्यवस्तु प्रयोग गर्न पाउने बताए । यस्ता बजार केन्द्रहरू पोखराका अन्य वडामा पनि राख्नुपर्नेमा उनले जोड दिए ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले आफ्नो स्वास्थ्यप्रति ख्याल राख्ने मानिसले महँगो मूल्य तिरेर भए पनि रैथाने र अग्र्यानिक खाद्यवस्तु खोज्ने हुँदा यस्ता बजार सबैलाई आवश्यक पर्ने बताए ।

विषादीयुक्त तरकारी तथा फलफूल खाँदा मानिसलाई विभिन्न रोग लाग्ने भएकाले अग्र्यानिक तरकारी उपभोग गर्न उनले उपभोक्तालाई आग्रह गरे ।

पोखरा-८ का अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, हस्तकला संघका उपाध्यक्ष सीता गुरुङलगायतले रैथाने बालीको महत्वका बारेमा प्रकाश पारेका थिए ।

रैथाने बजारमा कास्कीको रुपा गाउँपालिकाको ढोडबेँसी र मालेपाटनमा उत्पादित उखुको खुदो र कास्कीका फाँटमा उत्पादित जेढो बुढोको चामल ब्राण्डिङ गरेर बिक्री सुरु गरिएको छ ।

यस्तै अनदीको चामल, मह, मकै, कोदो, भट्ट, केराउ, फलफूल तथा तरकारीका साथै ब्राण्डिङ गरिएको कोदोको रक्सीसमेत बिक्रीका लागि राखिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस