म्याग्दीमा बस दुर्घटना अपडेटः गम्भीर घाइतेलाई पोखरा ल्याइयो

  • पोखरा न्यूज
  • २०८१ भाद्र १०
म्याग्दीमा बस दुर्घटना अपडेटः गम्भीर घाइतेलाई पोखरा ल्याइयो

पोखरा । म्याग्दीमा बस दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पोखरा ल्याइएको घाइतेमा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं १ तिप्ल्याङका २८ वर्षीय रोशन पुर्जा रहेका छन् ।

उनलाई बेनी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

अन्य तीन जना घाइतेको बेनी अस्पतालमै उपचार भइरहेको छ । जसमा बस चालक रघुगंगा गाउँपालिका वडा नं. १ तिप्ल्याङका ३० वर्षीय रमेश खड्का, सोही वडाको बेगखोलाका सहचालक २८ वर्षीय धनकुमार बुढा र रघुगंगा–३ पिप्लेका २९ वर्षीय भूमीराज रानामगर छन् ।

म्याग्दीको बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ना५ख २८९८ नम्बरको यात्रुवाहक बस सोमबार साँझ ५ः३० बजे बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत बेनी नगरपालिका-६ स्थित गलेश्वर नजिकै ठूलोबौरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस