पोखराका मेयर आचार्य एकीकृत समाजवादीको सचिवमा लड्दै

  • पोखरा न्यूज
  • २०८१ भाद्र ११
पोखराका मेयर आचार्य एकीकृत समाजवादीको सचिवमा लड्दै

|फाइल तस्बिर,मेयर धनराज आचार्य

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेकपा एकीकृत समाजवादी पार्टीको सचिव पदमा उम्मेद्वारी दिएका छन् ।

पार्टीको १८ जना पदाधिकारीसहित पोलिटव्यूरो सदस्य निर्वाचनको प्रक्रियाबाट छनोट गर्ने भएपछि आचार्यले सचिव पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

निर्वाचनले ८४ जना पोलिटव्यूरो सदस्य निर्वाचित गर्नेछ । जसका लागि अहिले निर्वाचन प्रक्रिया जारी छ ।

दिउँसो २ बजेपछि मतदान चल्ने सो पार्टीले जनाएको हो । साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । साँझ ६ बजेबाट नै मतगनणा सुरु गरिने कार्यतालिका सार्वजनिक गरिएको छ । आज बिहान ७ बजे मनोनयनपत्र वितरण भई ७ः३० देखि ८ः३० सम्म मनोनयन दर्ता भएको छ ।

अन्य प्रक्रिया पूरा गरेर मध्यान्ह १२ बजेदेखि १ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ ।

सचिवमा उम्मेद्वारी दिएका आचार्य सो पार्टीका पूर्व कास्की जिल्ला अध्यक्ष हुन् ।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुषाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो ।

बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो ।

एकीकृत समाजवादीले महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव तथा ३ सय ४४ सदस्यीय केन्द्रिय कमिटी चयन गरिसकेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस