पोखराको मालेपाटनमा खुला तीज गीत तथा महिला खेलकुद प्रतियोगिता हुने

  • पोखरा न्यूज
  • २०८१ भाद्र १३
पोखराको मालेपाटनमा खुला तीज गीत तथा महिला खेलकुद प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनमा दशौँ मालेपाटन खुला तीज गीत तथा महिला खेलकुद प्रतियोगिता हुने भएको छ । हिन्दू महिलाको महान पर्व हरितालिका तीजको अवसरमा सूर्यचन्द्र विकास समाजले प्रतियोगिताको आयोजना गरेको हो ।

यस अवसरमा आयोजित खेलकुद प्रतियोगिताअन्तर्गत अन्तर मावि छात्र भलिबल यही भदौ १७ गतेदेखि सुरु हुने समाजका महासचिव हेमराज भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार र द्वितीय हुने समूहले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ समूहले सहभागिता जनाउने छन् । भलिबलमा प्रत्येक खेलमा प्लेयर अफ दी म्याच र उत्कृष्ट खेलाडीलाई मेडल र नगद प्रदान गरिनेछ ।

यस्तै, खुला तीज गीत प्रतियोगिता भने भदौ २१ गते हुने समाजका अध्यक्ष कमला गौतमले जानकारी दिइन् । प्रतियोगितामा १६ समूहले प्रतिस्पर्धा गर्ने उनले बताइन् ।

तीज गीत प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान गर्ने टिमले क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट नृत्य तथा भेषभूषातर्फ समेत नगद पुरस्कार प्रदान गरिने महासचिव भण्डारीले जानकारी दिए । समाजले समाजसेवा शिक्षालगायतका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने महिला स्रष्टालाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ ।

भड्किलो तीज मुक्त क्षेत्र पोखरा-५ को घोषणालाई कार्यान्वयन गरौँ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम बाराही स्कुलको खेलमैदान मालेपाटनमा हुनेछ ।

यस प्रतियोगिताका लागि पोखरा-५ ले विशेष सहयोग तथा पृथ्वीचोकस्थित माताश्री जयलक्ष्मी सुनचाँदी दुकानले मुख्य प्रायोजन र सोफा हब पोखराको सहप्रायोजन गरेको छ ।

कार्यक्रममा नाै लाख ९१ हजार आम्दानी र नाै लाख ८५ हजार खर्च हुने अनुमान आयोजकको छ । विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व, आमा समूह, युवा क्लब, टोल विकास संस्थाको सहयोगबाट कार्यक्रम सम्पन्न गरिने अध्यक्ष गौतमले बताइन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस