पोखराको राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती 

  • पोखरा न्यूज
  • २०८१ भाद्र १३
पोखराको राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती 

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित बिहीबार महाआरती गरिएको छ ।

राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा राधाकृष्ण सांस्कृतिक समूहको तत्वाबधानमा महाआरती गरिएको हो ।

विश्वशान्तिको कामनासहित हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसमेत राखिएको महाआरतीको शुभारम्भसँगै यसपछि प्रत्येक एकादशीमा यसलाई निरन्तरता दिइने योजना राखिएको छ ।

महाआरतीको शुभारम्भ समारोहमा राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले यस शुभ कार्यमा सबैको साथ र सहयोगका लागि आह्वान गरे ।

कार्यक्रममा राधाकृष्ण गुुरुकुल संस्कृत विद्यालयका प्रधानाध्यापक एवं महाआरती संयोजक प्रकाश उपाध्याय रेग्मी, शिक्षक दामोदर गौतम, राधाकृष्ण मन्दिर शान्ति आश्रमका सचिव घनश्याम खनाललगायतले बोलेका थिए ।

महाआरतीअन्तर्गत तीनवटा आरती गरिएको थियो । यहाँ हुने महाआरतीको सम्पूर्ण व्यवस्थापन जिम्मा लिन चाहनेले रु १२ हजार सहयोग रकम बुझाएर कर्ता बन्न सक्ने व्यवस्था मिलाइएको छ ।

महाआरती प्रत्येक एकादशीका दिन अपराह्न ५ः३० बजे हुने जनाइएको छ ।

बिहीबारको महाआरतीमा मुख्य कर्ताकारुपमा राधा गुरुआमा, गोपालदाशी ढकाल र मनोहरि भण्डारी रहेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस