पोखराको बाराहीघाटमा तीज सांस्कृतिक महोत्सव, तयारी तीव्र

  • पोखरा न्यूज
  • २०८१ भाद्र १९
पोखराको बाराहीघाटमा तीज सांस्कृतिक महोत्सव, तयारी तीव्र

पोखरा । यही भदौ २१ र २२ गते लेकसाइडको बाराहीघाटमा हुने तीज सांस्कृतिक महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सव पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले आयोजना गरेको हो ।

‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महान् पर्व हरितालिका तीजको अवसरमा महोत्सव आयोजना गरिएको टेवान अध्यक्ष कमला गिरीले जानकारी दिइन् ।

नेपालको संस्कार, संस्कृति, कला, धर्मलाई पर्यटनसँग जोड्न महोत्सव आयोजना गरिएको अध्यक्ष गिरीको भनाइ छ । महोत्सवमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुद, बहसलगायतका कार्यक्रम हुने उनको भनाइ छ ।

महोत्सवको पहिलो दिन २१ गते तीज पर्व नै भएकाले बिहान १० बजे बाराहीचोकदेखि सांस्कृतिक झाँकीसहितको र्याली हुनेछ ।

बाराहीघाटस्थित नेपाल ट्रष्टको चौरमा बिहान ११ बजे औपचारिक उद्घाटन, सांस्कृतिक कार्यक्रम एवं तीज गीत प्रतियोगिता सुरु हुने छ ।

दोस्रो दिन बिहानैदेखि खेलकुदका कार्यक्रम हुने छन् । त्यसपछि तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा प्यानल छलफल हुनेछ ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राप्रपा नेतृ खुश्वु ओली र डा.राजुराज अधिकारी वक्ता रहनेछन् । सहजीकरण पत्रकार दुर्गा अधिकारीले गर्ने छन् ।

कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाका अनुसार तीज गीत प्रतियोगिताका करिब ३० टिमको सहभागिता रहनेछ ।

प्रतियोगीले पर्यटन प्रवद्र्धनसम्बन्धी र महिला उद्यमशीलता विषयमा गीत प्रस्तुत गर्नुपर्ने छ ।

एउटा टिममा बढीमा सात जना कलाकार हुनुपर्ने छ । गीत सात मिनेटमै गाएर सक्नुपर्ने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार सान्त्वना १० टिमलाई पाँच/पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट नृत्य र भेषभूषासहित झाँकी प्रदर्शन गर्नेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस