मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्ना गर्ने गरी तीज मनाऔँ : मुख्यमन्त्री

  • पोखरा न्यूज
  • २०८१ भाद्र २१
मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्ना गर्ने गरी तीज मनाऔँ : मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

उनले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्नामा मद्धत पुग्ने गरी पर्व मनाउनुपर्नेमा जोड दिए ।

नेपाली महिलाको महानपर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्रीले पछिल्लो समय चाडपर्वका नाममा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै धार्मिक, सांस्कृतिक महत्वमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

‘हरितालिका तीजको मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्नामा मद्धत पुग्ने गरी पर्व मनाउन सबैसँग अनुरोध गर्दछु, पछिल्लो समय चाडपर्वका नाममा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै धार्मिक, सांस्कृतिक महत्वमा केन्द्रित हुनुपर्ने आवश्यकता छ’, शुभकामना सन्देशमा मुख्यमन्त्रीले भनेका छन्, ‘समाजलाई भावनात्मक एकताको शुत्रमा बाध्ने, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्ने, सामाजिक, धार्मिक परम्परालाई दिगो बनाउने गरी तीज मनाउन प्रदेश सरकारको तर्फबाट अपिल गर्दछु ।’

मुख्यमन्त्रीले भने, ‘हरितालिका तीजले समाजमा विद्यमान विभेद र सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाजको निर्माणमा सबैलाई प्रेरित गर्न सकोस भन्ने शुभेच्छासहित हरितालिका तीज पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

हरितालिका तीज पर्व सनातन सांस्कृतिक पर्वको रुपमा नेपाली महिलाले मनाउँदै आएका छन् । यस पर्वमा महिलाले भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै परिवारको सुख, स्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस