चाडपर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता : प्रदेश प्रमुख

  • पोखरा न्यूज
  • २०८१ भाद्र २१
चाडपर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता : प्रदेश प्रमुख

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले हरितालिका तीज पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

भट्टले शुभकामना सन्देश जारी गर्दै नेपाली महिलाको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेका हुन् ।

भट्टले शुभकामना सन्देशमा भने, ‘परापूर्वकालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ, यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जन गर्ने अवसर समेत प्रदान गर्दै आएका छन् ।’

हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न आवश्यक रहेकोमा उनको जोड छ ।

सरल र सदाचार जीवन शैली अपनाउनका लागि खर्चिलो तथा भड्किलोपन बन्देज गरी यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता रहेको उनले उल्लेख गरे ।

हरितालिका तीजले नेपाली महिलालाई समाजमा लैंगिक तथा जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि उनले व्यक्त गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस