बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरी काम गर्छु : कार्की

  • पोखरा न्यूज
  • २०८१ भाद्र २२
बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरी काम गर्छु : कार्की

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेद्वार गोकर्ण कार्कीले देशमा अहिले व्यापार/व्यवसाय गर्ने अवस्था नभएको बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ३५औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी कार्कीले उम्मेद्वार परिचय कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले अधिकांश युवा विदेशिने र स्वदेशमै केही गरौँ भन्ने युवासमेत बैंक र वित्तीय क्षेत्रमा आएको समस्याका कारण व्यवसाय छाडेर जानुपर्ने स्थिति आएको र यसको अन्त्य गर्नु अत्यावश्यक रहेको स्पष्ट पारे ।

‘बैंक, वित्तीय क्षेत्रका समस्याको उचित निकासका लागि नियामक निकायसँग प्रतिफल आउने गरी काम गर्छु’ कार्कीले भने, ‘हिजो बैंकको चर्को ब्याजरदका कारण आम उद्योगी, व्यापारी, व्यवसायीले निकै कष्ट भोग्नुपरेको छ, मेरै नेतृत्वमा बैंक ब्याजदरको विरुद्धमा विभिन्न ध्यानाकषर्ण गर्ने काम भयो, अब नेतृत्वमा बसेर अझ सशक्त हुने चाहना छ ।’

उनले आफूले उम्मेद्वारी दिएपछि डेंगी लागेको र आराम गर्ने स्थितिमा रहे पनि जिम्मेद्वारी छाड्न नसकेर मैदानमा होम्मिएको बताए ।

देशमा भएका ठूला राजनैतिक घटनाक्रममा समेत संघ विचलित नभई आफ्नो उद्देश्यमा अडिग रहेको सुनाउँदै उनले संघ उद्योगी र व्यवसायी हितका लागि मात्रै नभइ सामाजिक सेवामा समेत हरेक क्षण तल्लिन भएको स्पष्ट पारे ।

वर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका कार्कीले २०५५ सालमा पोखरा उद्योग वाणिज्य संघमा साधारण सदस्यको रुपमा प्रवेश गरेका थिए ।

कार्कीले कार्यसमितिमा उद्योग उपाध्यक्षमा दुई कार्यकाल बिताउँदै हाल वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गर्दै गर्दा आम उद्योग, व्यवसायीको विश्वास र साथले नै सफल भएको बताए ।

विभिन्न संघसंस्थामा रहँदाको अनुभव र देश विदेशको भ्रमणबाट सिकेका कुरालाई नेतृत्व तहमा बसेर आम पोखराको उद्योग, व्यवसायीसँगै आर्थिक चलायमान बनाउने ध्येय आफ्नो रहेको उनी सुनाउँछन् ।

‘उद्योगीहरुको रक्षा, हकहित र सुख दःखमा साथ अनि औद्योगिक र व्यवसायीहरुको उत्थानका साथै सहज र शान्तिपूर्ण व्यवसाय गर्न सक्ने वातावरण बनाउनु नै मेरो लक्ष्य रहेको छ’, उनले भने, ‘कुनै पनि तहबाट राज्यको कानुनमा रहेर उद्योग–व्यवसायीलाई यो वा त्यो वहानामा हतोत्साहित बनाइनु हुँदैन भन्नेमा म सचेत छु ।’

संघमा अबको पालो आफ्नै भएकाले पनि अध्यक्षमा उम्मेद्वारी दिएको उनले सुनाए । संघ उद्योगी र व्यवसायिको आस्थाको धरोहर मात्र नभई पोखरोको समृृद्धिको संवाहक रहेको उनको भनाइ छ ।

संघको वर्तमान प्रतिष्ठा, स्वरुप र क्रियाशीलताका लागि अग्रजले गरेको आर्थिक नैतिक र भावनात्मक रुपले पुर्याएको ठूलो योगदानको चर्चा गर्दै संस्थागत असल कार्यलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, औद्योगिकरण र उत्पादनलाई प्रवर्द्धन गर्दै बजार व्यवस्थापन गर्ने उनले प्रतिबद्धता जनाए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस