
पोखरा । फेवातालमा बगेर आउने गेग्र्यान रोक्न पोखरा महानगरद्वारा निर्माण गरिएको सिल्ट्रेसन ड्यामको अवस्थाबारे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवलोकन निरीक्षण गरेका छन् ।
पोखरा-२३ र २४ स्थित खोलामा निर्माण गरिएका ड्यामको पछिल्लो अवस्था बुझ्न नगर प्रमुख आचार्य इन्जिनियरसहित पुगेका हुन् ।
फेवातालको मुहानका विभिन्न खोलामा पाँच वटा सिल्ट्रेसन ड्याम बनेका छन् ।
गण्डकी प्रदेश र पोखरा महानगरको संयुक्त २८ करोड १६ लाख रुपैयाँमा ती ड्याम बनेका हुन् ।
फेवा मुहानको बेत्यानी खोलामा दुई वटा, खहरे खोला, घाँटीछिना र लौरुक खोलामा एक-एक गरी पाँच वटा ड्याम बनाइएको हो ।
हाल कतिपय ड्यामको अवस्था जीर्ण बनेको र तत्काल मर्मत गर्नु पर्ने देखिएको नगर प्रमुख आचार्यले बताए ।
सार्वजनिक निजी साझेदारी (सानिसा) अन्तर्गत नदीजन्य पदार्थ व्यवस्थापनको जिम्मा फेवा सिल्ट्रेसन प्रा.लिले लिएको छ ।





