बाढीपहिरोमा परी १८ जनाको मृत्यु, २२ जना घाइते

बागलुङ । बागलुङमा गत असार, साउन र भदौ महिनामा बाढीपहिरोमा परी १८ जनाको मृत्यु भएको छ । असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परी १० जना पुरुष र आठ जना महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकामा छ महिला र छ पुरुष गरी १२ जना, बागलुङ नगरपालिकामा तीन पुरुष र एक महिला गरी चार जना, गलकोट नगरपालिकामा एक महिला, एक पुरुष गरी दुई जनाको मृत्यु भएको छ ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

यसवर्ष भारी वर्षा हुँदा धेरै ठाउँमा पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । पहिरोमा परी २२ जना घाइते भएको उनले जानकारी दिए ।

घाइतेमध्ये सात जना बडिगाड गाउँपालिका, एक जना जैमिनी नगरपालिका र एक जना बरेङ गाउँपालिकाको रहेको प्रहरी निरीक्षक पौडेल बताउँछन् ।

बाढीपहिरोमा परी २२ वटा पशुचौपाया मरेको उनको भनाइ छ । बडिगाड गाउँपालिका-१० का ११ वर्षीय बालक अझै बेपत्ता रहेको पौडेलले बताए ।

जिल्लामा गत असार १५ गतेदेखि बाढीपहिरोले क्षति पुर्याउन थालेको थियो । बाढीपहिरोका कारण बागलुङको बडिगाडमा मात्रै करिब ८० परिवार प्रभावित भएका थिए ।

बडिगाड गाउँपालिका-९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत जिल्लामा करिब एक सय ५० घरपरिवार प्रभावित भएको आँकलन गरिएको छ । वर्षा अझै पूर्णरुपमा नरोकिएको हुँदा जोखिम कायमै रहेको छ ।

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बाढीपहिरोबाट यस वर्ष बडिगाडले क्षति ब्यहोर्नु परेको बताए ।

बाढीपहिरो प्रभावित परिवारलाई गाउँपालिकाले आवश्यक सहयोग गरि सुरक्षित स्थानमा सार्ने, खाद्यान्न वितरण लगाएको काम गरेको उनको भनाइ छ ।

पालिकाको स्रोत साधानले भ्याएसम्मको व्यवस्थापन गरेको भन्दै माथिल्लो निकायबाट सहयोगको अपेक्षा गरेको उनी बताउँछन् ।

बाढीपहिरोले वडा नं १० मा सबैभन्दा बढी क्षति गरेको भन्दै विस्थापित परिवारलाई पुनःस्थापनाका लागि प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यकपर्ने अध्यक्ष अधिकारीले बताए ।

उनले भने, “यसवर्ष हामीहरुले कल्पना नै नगरेको घटना भयो, बाढीपहिरो अप्रत्यसित ठाउँमा गयो, यसले सिङ्गो बडिगाडलाई स्तब्ध बनाएको छ, अझै पनि वर्षा रोकी नसकेको हुँदा आम नागरिलाई सजक हुन आग्रह गरेका छौँ, बाढीपहिरोले धेरैलाई घरबारविहीन बनायो, कतिलाई परिवार, आफन्त विहीन बनायो, पीडामा परेका नागरिकको घाउमा हामीहरुले सक्दो मलम लगाउने कोसिस गरेका छौँ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button