कैलाली । विश्वकर्माको पूजाका लागि कैलालीमा मूर्ति निर्माण गर्ने मूर्तिकार तथा कालिगडलाई भ्याइनभ्याइ छ ।
विश्वकर्मा पूजाका लागि विश्वकर्माको मूर्ति निर्माण गर्नेदेखि लिएर, निर्माण गरिएका मूर्तिहरू सिङ्गार गर्ने, पेन्ट लगाउने कार्यका लागि मूर्तिकारलाई भ्याइनभ्याइ भएको हो ।
असोज १ गते अर्थात् विश्वकर्मा पूजाका दिन सहर बजारका कलकारखाना, उद्योग, औजार र उपकरणलगायत काम गर्ने स्थानमा विश्वकर्माको माटोको कलात्मक मूर्ति राखेर पूजाअर्चना गर्ने प्रचलन रहेको मूर्तिकार महेन्द्र शाहले जानकारी दिए । विशेषगरी सोही पूजालाई मध्यनजर गरेर मूर्ति बनाउन निकै नै व्यस्त रहेका शाहले बताए ।
“झण्डै एक महिनादेखि विश्वकर्मा बाबाको मूर्ति बनाउँदै आएको छु, मूर्ति निर्माणका लागि धेरै अगाडिदेखि अडर आएको छ र ती बनाएका मूर्तिमा अहिले सिङ्गार गर्ने, पेन्ट लगाउने, आकर्षक बनाउनेलगायत क्रियाकलाप गरिराखेको छु”, उनले भने, “एकदमै भ्याइनभ्याइ भएको छ ।”
सुदूरपश्चिम प्रदेशकै व्यापारिक केन्द्रका रुपमा रहेका धनगढी बजारलगायत आसपासका विभिन्न स्थानमा मूर्तिकार हिजोआज विश्वकर्माको मूर्ति निर्माण गरेर बिक्री गर्न जुटेको पाइन्छ ।
प्रतिमूर्ति रु १० हजार पाँच सयमा ग्राहकलाई बिक्री गर्दै आएको मूर्तिकार शाहले बताए । जसमध्येबाट पचास प्रतिशत फाइदा हुने गरेको उनले बताए ।
ग्राहकको मागअनुसार विभिन्न दररेटका पनि मूर्ति बनाउने गरेको शाहको भनाइ छ । एउटा मूर्ति बनाउन झण्डै एक हप्ता लाग्ने गरेको उनले बताए ।
विगत ३० वर्षदेखि मूर्तिकार पेसालाई अगाल्दै आएका शाहले विश्वकर्माको पूजा, छठ पूजा, वडादसैँलगायत चाडपर्वमा अक्सर गरेर विभिन्न देवीदेवता लगायतका मूर्ति बनाएर बिक्री गर्ने गरेको बताए ।
मूर्ति निर्माणका लागि माटो, पराल, सुतली धागो, काठ, किला, बोरालगायतका सामग्री प्रयोग हुने गरेको छ ।
विश्वकर्माको पूजाआराधना गर्दै उत्सव मनाउने गरिएको यो पर्वको लागी धनगढी बजार आसपासका क्षेत्रमा आज चहलपहल बढेको अजय ग्रीलका सञ्चालक अजय शर्माले बताए । उनले विश्वकर्माको पूजाका लागि विशेष तयारी भइरहेको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution