दुप्चेश्वर महादेवको दर्शन गर्न पुगेकी अधिकारी सूर्यमति खोलाले बगाएर बेपत्ता

  • पोखरा न्यूज
  • २०८१ भाद्र ३१
दुप्चेश्वर महादेवको दर्शन गर्न पुगेकी अधिकारी सूर्यमति खोलाले बगाएर बेपत्ता

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका-६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता भएका छन् ।

मन्दिर परिसरमा रहेको सूर्यमति (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका-३ स्थायी ठेगाना भएर हाल काठमाडौँ बस्ने हिमकुमारी अधिकारीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार परिवारको साथमा मन्दिर दर्शनका लागि पुगेकी ७२ वर्षीय अधिकारीलाई स्नानको क्रममा खोलाले बगाएपछि खोजी कार्य भइरहेको छ ।

खोलाले बगाएलगत्तै थालिएको उद्धार र खोजतलास जारी रहेको छ । उनको अवस्था साँझसम्म पत्ता लाग्न नसकेको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए ।

हराइरहेको वृद्धालाई खोजतलासमा सहयोग पुर्याउन गाउँपालिकाले आह्वान गर्दै उनलाई फेला पार्ने व्यक्तिलाई प्रसंशा स्वरुप रु ५० हजार नगद दिने घोषणा गरेको छ ।

बाढीका कारण खोलाको बहाव ठूलो भएको र पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस