क्यानडासँग नेपालको लज्जास्पद हार

  • पोखरा न्यूज
  • २०८१ आश्विन १
क्यानडासँग नेपालको लज्जास्पद हार

पोखरा । नेपाल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग एक सय ३ रनको भारी अन्तरले पराजित भएको हो ।

खराब ‘ब्याटिङ’ गरेको नेपाल क्यानडासँग एकदिवसीय खेलमा पहिलोपटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको तीन भेटमा नेपालले तीनै खेलमा जित निकालेको थियो ।

खेलमा २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रनमा समेटियो ।

नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २७ रन बनाएका हन् ।

त्यसैगरी, ‘ओपनर’ कुशल भुर्तेल एक रनमा नै आउट भए । सन्दीप लामिछाने २२, आसिफ शेख २०, भीम सार्की १८, गुलशन झा १५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी आठ, सोमपाल कामी ६ तथा कप्तान रोहितकुमार पौडेल पाँच रनमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा क्यानडाका तीव्र गतिका ‘बलर’ डिलोन हेलिगरले पाँच विकेट लिए भने अखिल कुमार र अंश पटेलले समान दुई-दुई विकेट लिए । त्यस्तै, सादविन जाफरले एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ५३ रनको योगफल बनाएको थियो ।

उसका लागि कप्तान निकोलस किर्टोनले सर्वाधिक ७३ रनको योगदान गरे । उनले ४४ बलमा तीन चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेलेका हुन् ।

यसैगरी, नवनीत धालिवालले ४८, डिलोन हेलिगर ३०, हर्ष थाकेर २७ रन जोड्दा परगत सिंह र साद बिन जाफरले समान १७/१७ रन बनाए । त्यस्तै, आरोन जोनसनले १० रन बनाए ।

नेपालका सोमपाल कामी र ललित राजवंशीले समान दुई-दुई विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले समान एक-एक विकेट लिए । अब नेपालले भोलि ओमानसँग खेल्नेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस