श्रीलङ्का । श्रीलङ्काको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दोस्रो चरणको मतगणनापछि उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिनेछन् ।
पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले विजयी हुन आवश्यक मत ल्याउन नसकेपछि पहिलो स्थानमा आएका दिसानायके र दोस्रो स्थानमा रहेका प्रेमदासाबाहेक अन्य उम्मेदवार चुनावी दौडबाट बाहिरिएका थिए ।
चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारलाई मत दिएका मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गनेर विजेता निर्धारण गरिएको हो ।
सन् २०२२ मा देखिएको चरम आर्थिक सङ्कटका कारण चलेको आन्दोलनका भरमा तत्कालिन राष्ट्रपति गोटबाय राजपाक्षले राजिनामा गरेपछि उनको स्थानमा त्यहाँको संसद्ले रनिल विक्रमासिङ्घेलाई चयन गरेको थियो ।
विक्रमासिङ्घेले राजपाक्षको पलायन र राजिनामापछि खालि रहेको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्दै सङ्कटग्रस्त अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने काम गरेका थिए ।
सन् २०२२ को आर्थिक मन्दीको चरमोत्कर्षमा सत्तामा पुगेका वर्तमान राष्ट्रपति रानिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बेलआउटको शर्तअनुसार कडा मितव्ययिता नीति लागू गरेका थिए ।
राष्ट्रपति विक्रमासिङ्घेको कर वृद्धि र आईएमएफको २दशमलव९ अर्ब अमेरिकी डलरको बेलआउटअन्तर्गत मन्दीलाई सही दिशा दिन लगाइएका अन्य उपायले लाखौंलाई जीविका चलाउनसमेत कठिन भएको थियो ।
गत वर्ष सरकारले विदेशी ऋण नतिरेपछि प्राप्त गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को उद्धार प्याकेजका शर्तमा पुनः छलफल गर्ने अभियानको क्रममा विक्रमासिङ्घेले गरेका वाचालाई दिसानायकाले निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।
आठ हप्ता लामो अभियानमा आर्थिक मुद्दा हावी भएका थिए र दुई वर्षअघि सङ्कटको चरमोत्कर्षमा पुगेदेखि भोगेका कठिनाइप्रति व्यापक जनआक्रोश देखिएको थियो ।
आइतबारसम्म आधिकारिक नतिजा आउने अपेक्षा गरिएको छैन तर विदेशमन्त्री अली साबरीले प्रारम्भिक गणनाले दिसानायकाले जितेको स्पष्ट भएको स्वीकारोक्ति व्यक्त गरेका छन् ।
“मैले राष्ट्रपति रानिल विक्रमासिङ्घेका लागि धेरै प्रचार गरे पनि श्रीलङ्काका जनताले आफ्नो निर्णय लिएका छन् र अनुरा कुमारा दिसानायकाका लागि उनीहरूले दिएको जनादेशलाई म पूर्ण सम्मान गर्छु,” साब्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।
श्रीलङ्काका एक करोड ७१ लाख मतदातामध्ये करिब ७६ प्रतिशतले शनिबार सम्पन्न निर्वाचनका लागि मतदान गरेका थिए ।
सन् १९७० र १९८० को दशकमा दिसानायकाको माक्र्सवादी पार्टीले दुई असफल विद्रोहको नेतृत्व गरेको थियो जसमा ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।
उनको दललेसन् २०२० को संसदीय चुनावमा चार प्रतिशतभन्दा कम मत प्राप्त गरेको थियो तर श्रीलङ्काको सङ्कटले ५५ वर्षीय दिसानायकाका लागि देशको नेतृत्व गर्ने अवसर प्रदान गरेको छ ।
उनले श्रीलङ्काको ‘भ्रष्ट’ राजनीतिक संस्कृति परिवर्तन गर्ने आफ्नो प्रतिज्ञाको आधारमा समर्थनमा वृद्धि भएको बताएका छन् । “हाम्रो देशलाई नयाँ राजनीतिक संस्कारको खाँचो छ,” शनिबार मतदान पछि उनले भने ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution