सूर्यदर्शन सहकारी प्रकरण : पूर्वडीआइजी जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

  • पोखरा न्यूज
  • २०८१ आश्विन ७
सूर्यदर्शन सहकारी प्रकरण : पूर्वडीआइजी जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोप लागेका पूर्वडीआइजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जोशी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालकसमेत हुन् । उनी आइतबार काठमाडौँबाट पक्राउ परेका थिए भने आइतबार राति नै पोखरा ल्याइएको थियो । उनलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो ।

जोशीलाई आज अदालत उपस्थित गराइएकोमा जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । प्रहरीले १० दिन अनुमति माग गरेकोमा अदालतले पाँच दिनमात्रै दिएको हो ।

कास्की प्रहरीका अनुसार जोशी विदेश जान लागेको सूचना पाइएपछि पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको छ ।
उनलाई काठमाडौँ प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो ।

जोशी पक्राउ परेसँगै सूर्यदर्शन सहकारी प्रकरण अघि बढेको छ । जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि पक्राउ पर्ने आकलन गरिएको छ ।

सभापति लामिछानेले भने आफूलाई फसाउने षडयन्त्र भएको भन्दै प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सोही निर्देशन बमोजिम कार्यकर्ताले आज पोखरामा सरकारबिरुद्ध विरोध प्रदर्शन गरेका थिए । साथै सहकारी पीडितले पनि आज पोखरामा प्रदर्शन गरे ।

कास्की जिल्ला प्रशासन कार्यालय अगाडि दुवै पक्षले पक्ष र विपक्षमा नाराबाजी गरेका थिए । सहकारी पीडितले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरे भने रास्वपाका कार्यकर्ताले रविलाई षडयन्त्र गरेर फसाउन खोजिएको भन्दै सरकारको बिरोधमा प्रदर्शन गरे ।

प्रशासन कार्यालय अगाडिको एक छेउमा सहकारी पीडित र अर्को छेउ (शहीद चोक) मा रास्वपाका कार्यकर्ताले नाराबाजी गरिरहँदा बीचमा सुरक्षाकर्मी तैनाथ थिए ।

सहकारी पीडितले ‘सहकारी ठग मुर्दाबाद’, ‘पीडितलाई न्याय दे’, ‘अपराधीलाई कार्वाही गर’, ‘रवि लामिछानेलाई पक्राउ गर’ जस्ता नारा लगाएका थिए भने रास्वपाका कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’, ‘फासिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् ।

साथै सरकारले सभापति रविलाई फँसाउन खोजेको भन्दै उनीहरुले त्यसको प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस