पोखरा । हेमजा साहित्य प्रतिष्ठनद्वारा सञ्चालित राधा-लक्ष्मी पुरस्कारबाट पण्डित माधवशरण बास्तोला पुरस्कृत भएका छन् ।
प्रतिष्ठानले लक्ष्मीशरण उपाध्यायको ८७ वर्षको स्मृति दिवसमा मंगलबार एक कार्यक्रमको आयोजना गरी बास्तोलालाई पुरस्कृत गरेको हो ।
पोखरा महानगरपालिका वडा नं. २५ की कार्यवबहक वडाध्यक्ष धनकुमारी पोख्रेल तिम्सिना, हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेल, पुरस्कारका संरक्षकत्रय केशवशरण पौडेल, माधवशरण पौडेल र श्यामशरण पौडेलले बास्तोलालाई संयुक्तरुपमा सम्मान गरेका थिए ।
पुरस्कारको राशि १५ हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला छ । शिक्षा, साहित्य र धर्म, अध्यात्मको श्रीवृद्धि तथा संरक्षणमा क्रियाशील रहेर सभ्य र समुन्नत समाज निर्माणमा पुर्याएको योगदानको कदरस्वरुप बास्तोलालाई पुरस्कृत गरिएको हो ।
यो पुरस्कार यसअघि छन्दनायक माधव वियोगी र शिक्षासेवी चतुरमान श्रेष्ठलाई प्रदान गरिएको थियो ।
उपाध्यायका छोरा केशवशरण पौडेल र माधव शरण पौडेलले आफ्ना बुवा लक्ष्मीशरण र आमा राधादेवी पौडेलका नाममा राधा–लक्ष्मी अक्षयकोष स्थापना गरेका थिए ।
अक्षयकोष दुई लाख २५ हजार रुपैयाँको छ । कोषमा उमाकान्त पौडेलले पाँच हजार प्रदान गरी दुई लाख ३० हजार पुर्याइएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २५ की कार्याबाहक अध्यक्ष तिम्सिनाले लक्ष्मीशरण उपाध्याय हेमजाको इतिहास भएको भन्दै उहाँलाई जिवन्त राख्ने काम परिवारले गरेको उल्लेख गरिन् ।
‘अहिले आफ्ना बुब आमा वृद्ध भएपछि वृद्धाश्रम लगेर राख्ने प्रचलन बढेको छ’, उनले भनिन्, ‘बुबाआमाको सम्झनामा यो अक्षयकोषको स्थापनाले नयाँ पुस्तालाई सिक्ने अवसर मिल्ने छ ।’
पोखरा-२५ का पूर्व वडाध्यक्ष शोभाकर तिमिल्सिनाले कार्यक्रम नयाँ पुस्ताको लागि प्रेरणा बन्ने बताए ।
वडा सदस्य कृष्णबहादुर कुँवरले लक्ष्मीशरण उपाध्यायले गरेका कार्यलाई सबैले अनुशरण गर्नु पर्ने बताए ।
पुरस्कृत व्यक्तित्व बास्तोलाले लक्ष्मीशरण उपाध्यायले आफूलाई पनि पढाएको स्मरण गर्दै उनका योगदान समाजले कहिल्यै बिर्सन नहुने स्पष्ट पारे ।
अक्षयकोषका संरक्षक केशवशरण पौडेलले बुबा र आमाको सम्झनामा राखिएको यो अक्षयकोषलाई बढाएर अझै फराकिलो बनाउने बताए ।
कार्यक्रममा प्रतिष्ठानको मासिक कार्यक्रमअन्तर्गत २५२औँ शुभप्रभात काव्यमालाअन्तर्गत रचना वाचन गरिएको थियो ।
प्रतिष्ठान अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेमजा साहित्य प्रतिष्ठानका पूर्वअध्यक्ष कृष्णप्रसाद पौडेल, समाजसेवी ऋषिराम पौडेल, अक्षयकोषका संरक्षक माधवशरण पौडेल, हेमजा साहित्य प्रतिष्ठानका उपाध्यक्ष सुनिल गायक, सचिव परशुराम अधिकारी, साहित्यकार वसन्त बास्तोला ‘चिन्तन’, डा. अनिल थापा, राजेन्द्र बास्तोलालगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution