पोखराको पुरानो विमानस्थलमा निर्मित मानवीय सहायता केन्द्र शुभारम्भ

  • पोखरा न्यूज
  • २०८१ आश्विन ९
पोखराको पुरानो विमानस्थलमा निर्मित मानवीय सहायता केन्द्र शुभारम्भ

पोखरा । संघीय सरकारका गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापनका लागि तीनै तहका सरकार मिलेर काम भइरहेको र आगामी दिनमा समेत यसले निरन्तरता पाउने बताएका छन् ।

पोखराको पुरानो विमानस्थलमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले निर्माण गरेको मानवीय सहायता केन्द्र भर्चुअल माध्यमबाट उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

पोखरामा बनेको सहायता केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रको विपद् व्यवस्थापनमा चुस्त हुने उनको विश्वास छ ।

सोही अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ताम्रपत्र अनावरण गरे । मुख्यमन्त्री पाण्डेले प्रदेशले विपद व्यवस्थापन कोष सञ्चालन गर्दै आएको जानकारी दिए ।

उनले गण्डकी प्रदेश सरकारले सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्दै राहत तथा उद्धारमा एकद्वार नीति अवलम्बन गर्दै आएको स्पष्ट पारे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले छिट्टै कार्यविधि बनाएर केन्द्र सञ्चालनमा ल्याइने बताए ।

केन्द्रका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले चार रोपनी जग्गा उपलब्ध गराएको छ । युरोपेली संघको एक लाख ६१ हजार अमेरिकी डलरको सहयोगमा निर्मित केन्द्रको २०८० चैतमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले शिलान्यास गरेका थिए ।

केन्द्रमा राहत सामग्री, उद्धारका उपकरण, खाद्यान्न, जेनेरेटरलगायतका सामग्री राखिने बताइन्छ । गण्डकीमा आइपर्ने मानवीय संकटका बेला यो केन्द्र उपयोगी हुने विश्वास छ ।

विपत्तिका बेला संकलन हुने राहत सामग्रीको अभिलेख राख्ने, सहजीकरण गर्ने र उद्धार एवं राहत वितरणलाई छरितो बनाउनका लागि मानवीय सहायता केन्द्रमार्फत् काम हुनेछ ।

खासगरी भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिपछि राहत तथा उद्धारका लागि केन्द्रले काम गर्नेछ ।

विश्व खाद्य कार्यक्रम सन् १९६१ देखि क्रियाशील छ । नेपाल सरकारलाई सन् २०१३ देखि देशभर आपतकालीन तयारी तथा प्रतिकार्य क्षमता बलियो बनाउन मानवीय सहायतास्थलको राष्ट्रिय सञ्जाल निर्माण गर्न यसले सहयोग गर्दै आएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस