तनहुँ जलविद्युत् आयोजनाले क्षतिपूर्ति वितरण गर्ने

  • पोखरा न्यूज
  • २०८१ आश्विन १०
तनहुँ जलविद्युत् आयोजनाले क्षतिपूर्ति वितरण गर्ने

|photo-Raju Bhandari

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएका घरलाई क्षतिपूर्ति वितरण गरिने भएको छ ।

निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको चरण-१ अन्तर्गत संरचना निर्माणका लागि विस्फोट गर्दा सो आसपासका घर तथा भौतिक संरचनामा पुगेको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति वितरण गर्न लागिएको हो ।

क्षतिको असर र मूल्याङ्कन गरी क्षतिपूर्ति रकम सिफारिस गर्न तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको संयोजकत्वमा गठित उपसमितिको बैठक सम्पन्न भएसँगै सङ्कलन भएका विवरणअनुसार मूल्याङ्कन थालिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

बैठकमा निर्माणका कारण ऋषिङ गाउँपालिका-१ का ९८ परिवार र व्यास नगरपालिका-५ बेतेनीका २० गरी एक सय १८ परिवारका घर तथा संरचनाको मूल्याङ्कन गरी तयार गरिएको प्रतिवेदनमाथि छलफल गरिएको भण्डारीले बताए ।

उनले भने, “मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रुप दिई क्षतिपूर्ति निर्धारण समितिसमक्ष पेस गर्ने निर्णय भएको छ ।”

यसैबीच, आयोजनाको बाँध निर्माणस्थल भन्दा माथिल्लो तटीय क्षेत्रमा पर्ने ऋषिङ-१ लोक्माका बासिन्दासँग परामर्श बैठक गरिएको छ ।

लोक्मावासीलाई दमौली क्षेत्रमा आवतजावत गर्न सहजीकरण गर्ने उद्देश्यले गरिएको परामर्श बैठकमा बाँध निर्माणस्थल क्षेत्रबाट सुरक्षित रुपमा आवतजावत गर्न विभिन्न विकल्पमा छलफल गरिएको भण्डारीले जानकारी दिए ।

उनका अनुसार दैनिक रुपमा आवतजावतका लागि स्थानीयवासीले बाँध निर्माणस्थलको बायाँतर्फ व्यवस्था गरिएको सटल ट्रकको प्रयोग गर्ने सहमति भएको छ ।

निर्माण व्यवसायी सोङ्दा कालिकाले सटल ट्रकको व्यवस्था गरेर सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गरी स्थानीयलाई समूहगत रुपमा हरेक दिन बिहान ८ बजे, ११ बजे, दिउँसो १ः३० बजे, ३ बजे, साँझ ५ बजे र साँझ ७ बजे आवतजावत गराउने सहमति भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस